अभिनेत्री नीति शाहलाई फिल्ममा डेब्यु गर्न ठूलै सकस पर्यो । नाम चलेका केही स्टारसँग जोडी बाँध्ने गरी सम्झौता गरेका चारवटा फिल्म नबनेपछि उनी अन्योलमा थिइन् । कतिपयले ‘अनलक्की’ समेत भन्न भ्याए । अन्ततः उनले फिल्म ‘खबुरे ब्रो’बाट अभिनेत्रीको परिचय थपिन् । तर, उनलाई पहिलो गाँसमै ढुंगा लाग्यो । न फिल्म चलिदियो न अभिनयमा नीतिले आफ्नो प्रभाव छाड्न सकिन् ।
डेब्यु फिल्म नचलेपछि धेरैलाई लागेको थियो, अब नीतिलाई फिल्मलाई लिन मेकरहरु हच्किनेछन् । तर, यतिबेला ठीक विपरित भइरहेको छ । उनलाई फिल्म अफरको ओइरो लागेको देखिन्छ । गत बैशाखमा प्रदर्शनमा आएको ‘खबुरे ब्रो’पछि उनले ६ वटा फिल्म सम्झौता गरिसकेकी छन् । सम्भवतः यस वर्ष सबैभन्दा धेरै फिल्म सम्झौता गर्ने अभिनेत्री नै उनै हुन् ।
‘खबुरे ब्रो’पछि उनले फिल्म ‘ज्वाइँ साब’मा काम गरिन्, जुन दशैंमा रिलिज भइसकेको छ । यो फिल्म नगर्दै उनले ‘रुखान’ सम्झौता गरिसकेकी थिइन् । यसको निर्माण भने अन्योल छ । भर्खरै फिल्म ‘नरसिंहा अवतार’मा आफ्नो भागको छायांकन सकाएकी उनी अब ‘मोहर’मा काम गर्ने तयारीमा छिन् । उनले ‘अज्ञात’ फिल्म पनि सम्झौता गरेर बसेकी छन् ।
यसैबीच, नीति हालै ‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेलको नयाँ फिल्म ‘कोशेढुंगा’मा अनुबन्धित भएकी छन् । यसरी हेर्दा फिल्म चलोस् या नचलोस् वा अभिनयकै आलोचना किन नहोस्, नीतिलाई कुनै असर गरेको देखिँदैन । उनीप्रति मेकरहरुको आकर्षण घटेको छैन, बरु बढेको छ । मात्र नीतिले मार खाइरहेको अभिनयमा हो । यसमा भने उनी गम्भीर हुनुपर्ने देखिएको छ ।