मिति : २०८१ माघ ११, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘एक्टर’को ‘एक्टिङ कन्टेस्ट’ घोषणा, विजेताले फिल्म खेल्न पाउने

फिल्मीखबर, काठमाडौं, 2025/01/23

Contest

 

यही माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘एक्टर : टेक वन’ले अभिनयमा रुचि हुने दर्शकलाई एउटा महत्त्वाकाङ्क्षी अवसर दिने गरी ‘एक्टिङ कन्टेस्ट’ घोषणा गरेको छ । यो कन्टेस्टमा सहभागी भएर विजेता हुने एक जनालाई निर्माण कम्पनी अधृत फिल्म्स्को आगामी फिल्ममा विशेष भूमिकामा अभिनय गर्ने अवसर दिइने निर्माता थमन कुमार भण्डारीले जानकारी दिए ।

यो कन्टेस्टमा विश्वभरका नेपालीहरूले सहभागिता जनाउन सक्नेछन्, जसको लागि फिल्मको टिजर, ट्रेलर वा गीतहरूको कुनै पनि भागमा कम्तिमा १ मिनेट लामो भिडियो बनाएर आफूले प्रयोग गर्ने सामाजिक सञ्जालमा पोस्ट गर्नुपर्नेछ । र, फिल्मको आधिकारिक फेसबुक, इन्स्टाग्राम र टिकटकमा ट्याग वा मेन्सन गर्नुपर्ने सर्त राखिएको छ ।

यो कन्टेस्टमा सहभागीले नियमपूर्वक पोस्ट गरेका भिडियोलाई फिल्मको आन्तरिक सृजनात्मक टिमले मूल्याङ्कन गरेर विजेता घोषणा गर्ने जनाइएको छ । यो कन्टेस्टको समयासीमा फिल्म रिलिजको दोस्रो हप्ता (माघ ३०) गतेसम्म मात्र रहनेछ । विजेताको घोषणा भने फिल्मका मुख्य अभिनेता प्रदिप खड्काले गर्नेछन् ।

कलाकारको रोचक ‘लाइनअप’का कारण निर्माण अगावैदेखि चर्चामा रहेको ‘एक्टर’को अघिल्लो साता सार्वजनिक ट्रेलरले युट्युबजस्ता प्लेटफर्ममा उत्कृष्ट प्रतिक्रिया पाएको छ । युट्युबमा मात्र ट्रेलरलाई ६ दिनमा ३० लाख बढीले हेरिसकेका छन् भने ‘के भरोसा गरम्’ गीतलाई २ सातामा २७ लाख बढी भ्यूज प्राप्त छ । यसले फिल्मप्रति दर्शकको उत्साह दर्शाउँछ ।

राजन भुसालको निर्देशनमा तयार भएको फिल्ममा प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौला लगायतको अभिनय रहेको छ । फिल्मको स्क्रिप्ट आकाश बराल र राजन भुसालले संयुक्त रुपमा लेखेका हुन् । फिल्ममा नरेन्द्र मैनालीको छायांकन छ भने सम्पादन निमेष श्रेष्ठ र द्वन्द्व निर्देशन अष्ट महर्जनको छ ।