नेपाली फिल्म क्षेत्रमा कलाकारलाई ‘ट्याग’ दिने प्रचलन सामान्य भइसकेको छ । ‘महानायक’, ‘एक्सन स्टार’, ‘मेगास्टार’, ‘सुपरस्टार’ जस्ता ‘ट्याग’ बुक भइसकेका छन् । यतिबेला अभिनेता प्रदीप खड्कालाई फिल्म ‘एक्टर: टेक वन’को ट्रेलरमा ‘सुपरस्टार’को ट्याग दिएको विषय चर्चामा छ । यो ‘ट्याग’ उनकै चाहनामा राखिएको हो वा निर्माता/निर्देशकले दिएका हुन् भन्ने चासो धेरैमा देखिन्छ ।
बिहीबार पत्रकार भेटघाटमा प्रदीप आफैंले ‘सुपरस्टार’ ट्यागको प्रसंग कोट्याए । यो ‘ट्याग’ राख्न आफूले कुनै दबाब नदिएको उनको भनाइ छ । भन्छन्, ‘फिल्ममा निर्देशकले मलाई ‘सुपरस्टार’ भनेर लेख्नुभयो । मैले नलेख्नै सुझाव दिएको थिएँ । तर, मैले रोक्न सकिनँ ।’ उनी कुनै ‘ट्याग’बाट भन्दा पनि कलाकारको रुपमा चिनिँदा आफूलाई खुसी लाग्ने बताउँछन् ।
‘एक-दुई दिनयता म सोचिरहेको छु कि बलिउडमा ‘सुल्तान’ खेलेर कलाकारलाई सुल्तान भनेजस्तै ‘एक्टर’ रिलिज भएपछि ‘एक्टर प्रदीप’ भनिन थालियो भने त्यो चाहिँ ठूलो उपलब्धि हुन्छ होला । यसरी सम्बोधन भए म पनि हर्षित हुने थिएँ,’ उनी भन्छन्, ‘कसैले मलाई ‘स्टार’ र ‘सुपरस्टार’ बनाए पनि खासमा बन्नुपर्ने भनेको त एक्टर हो । त्यसमाथि ‘एक्टर’ शीर्षकमै फिल्म बनेको छ ।’
फिल्ममा प्रदीपलाई ‘सुपरस्टार’को ट्याग दिएको विषयमा निर्देशक तथा लेखक राजन भुसालले पनि प्रष्ट पार्ने प्रयास गरे । दर्शकले प्रदीपलाई ‘सुपरस्टार’को रुपमा स्वीकार गरिसकेको अवस्थामा यो ‘ट्याग’ दिन बरु ढिलाइ भएको उनको बुझाइ छ । नेपाली फिल्ममा प्रदीपले दिएको योगदानको आधारमा ‘सुपरस्टार’ ट्याग पनि सानो हो भन्ने उनलाई लाग्छ ।
‘ट्याग भनेको कसैले दिएर वा नदिएर हुने कुरा होइन । मैले ‘एक्टर’ फिल्म प्रदीपजीलाई लिएर बनाउँदैछु भनेर कुरा गर्दा भेटेका जति सबैले ‘सुपरस्टार प्रदीप खड्का’ भन्नुहुन्थ्यो । यसको मतलब उहाँलाई सुपरस्टारको रुपमा जनताले नै स्वीकार गरिसक्नुभएको छ,’ निर्देशक भुसाल भन्छन्, ‘उहाँले फिल्म क्षेत्रमा दिनुभएको योगदानको हिसाबले त ‘सुपरस्टार’ ट्याग पनि सानो हो भन्ने लाग्छ ।’