बाल विवाह र महिला हिंसाविरुद्धको कथामा बनेको फिल्म ‘जुनाःएक व्यथा’को पहिलो गीत ‘आमाको मुहार’ सार्वजनिक गरिएको छ । यदु राई लकान्द्रीको पार्श्व गायन, जीवन सेन्चुरीको शब्द तथा रमेश सन्चुरीको संगीत रहेको गीतको भिडियोमा फिल्मकी मुख्य पात्र अस्मिता ढकालले बाल विवाह गरेर श्रीमानको घरमा गएपछि भोग्नुपरेको पीडा र यातनालाई मर्मस्पर्शी रुपमा देखाइएको छ ।
यही माघ २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्ममा अस्मितासहित कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, कमल बोहोरा, अस्मिता बस्नेत, खगेन्द्र न्यौपाने, विकास आनन्द, इन्द्र बिके, केशव अधिकारी लगायतको अभिनय छ । जीवन सेञ्चुरीको निर्देशनमा तयार भएको फिल्मका निर्माता दीपकप्रसाद घिमिरे हुन् ।
वर्षौंदेखि नेपाली समाजमा व्याप्त महिला हिंसा, बाल विवाह, अनमेल विवाह, बहुविवाह, बलात्कार, जबरजस्ती करणी, छाउपडी जस्ता कुप्रथालाई अन्त्य गर्ने राष्ट्रिय आवश्यकतालाई फिल्मको माध्यमबाट सम्बोधन गर्ने प्रयास गरिएको निर्देशक सेञ्चुरीको भनाइ छ । यो फिल्ममा राजबहादुर सानेको कथा लेखन, बीबी अनुरागी र रमेश सेञ्चुरीको संगीत तथा रामेश्वर हुमागाईंको डीओपी छ ।