वर्षौंदेखि नेपाली फिल्ममा रंग संयोजन (कलर ग्रेडिङ) गर्दै आइरहेका जुनिम गहतराजको डेब्यु निर्देशकीय फिल्म ‘ताण्डवम्’को टिजर सार्वजनिक गरिएको छ । शुक्रबार युट्युबमार्फत् सार्वजनिक झन्डै एक मिनेट लम्बाईको टिजरले थ्रिल महसुस गराउँदै प्रेम र बदला भाव देखाउँछ । फिल्मका मुख्य पात्र अंकित खड्काको ‘न्यारेसन’बाट सुरु भएको टिजर हिंसात्मक दृश्यसँगै अन्त्य हुन्छ ।
‘डार्क थिम’मा तयार पारिएको टिजरको अन्तिममा एउटा संवाद छ, ‘भगवान् पनि मैँ हुँ, राक्षस पनि मैँ ।’ यसबाट फिल्मको कथा बुझाउन खोजिएको छ । मानव कसरी दानव बनिरहेका छन् भन्ने विषय फिल्मको मूल कथा देखिन्छ । आगामी फागुन ९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मप्रति दर्शकमा उत्सुकता जगाउन टिजर सक्षम छ ।
अनिरुद्ध आत्रेय र हुसेनको लेखन रहेको फिल्ममा अंकितसहित जुनिम गहतराज, पुष्कर गुरुङ, प्रेम सुब्बा, सरिना मगर, अनोज पाण्डे, कमल कार्की लगायतको पनि अभिनय छ । फिल्मका निर्माता धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम हुन् । हरि घले लामाले खिचेको फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, सुशान्त गौतमको संगीत र कोबिद बज्रको ब्याकग्राउन्ड म्युजिक छ ।