अभिनेता राजबल्लभ कोइराला आफ्नो कमब्याक फिल्म ‘एक्टर: टेक वन’को प्रवर्द्धन गर्न अमेरिकाबाट काठमाडौं आइपुगेका छन् । शनिबार साँझ ६ बजे त्रिभुवन विमानस्थलमा ओर्लिएका उनलाई फिल्मका मुख्य अभिनेता प्रदीप खड्का, निर्देशक राजन भुसाल लगायतले स्वागत गरेका थिए । बडिगार्डसहित विमानस्थलबाट बाहिरिएका राजबल्लभ सञ्चारकर्मीहरुसँग पनि केहीबेर गफिए ।
करिअरको उत्कर्षमा रहँदा रोमान्टिक भूमिकामा बढी देखिएका राजबल्लभ ‘एक्टर’मा नकारात्मक भूमिकामा छन् । यही विषयमा सञ्चारकर्मीले उनलाई प्रश्न गरे- ‘किन नकारात्मक चरित्र गर्न तयार हुनुभयो ?’ यसमा उनको जवाफ थियो, ‘कलाकार भएपछि भिन्न-भिन्न चरित्रमा आफूलाई ‘एक्सप्लोर’ गर्नुपर्छ ।’ ‘एक्टर’को चरित्रमा आफूले ‘इन्जोय’ गरेको उनको भनाइ थियो ।
उनले भने, ‘कलाकारको सबैभन्दा राम्रो पक्ष भनेकै उसले धेरै जिन्दगी बाँच्न सक्छ । म ‘लभर ब्वाई’ मात्र बन्छु भनेर हुँदैन । फरक-फरक चरित्र पनि बाँच्नुपर्छ । भिन्न-भिन्न चरित्रमा आफूलाई ‘एक्सप्लोर’ गर्दै जानुपर्छ । जसरी प्रदीपले ‘प्रकाश’ र ‘पूजार सार्की’मा गर्यो । मैले यसअघि पनि नकारात्मक चरित्र नगरेको हैन । ‘एक्टर’को क्यारेक्टरमा चाहिँ म आफैंले पनि निकै ‘इन्जोय’ गरेको हुँ ।’
राजबल्लभलाई दयाहाङ राई, विपिन कार्की जस्ता कलाकारले फिल्ममा बाँचेको चरित्र देख्दा लोभ लाग्ने रहेछ । भन्छन्, ‘फिल्ममा दयाहाङ राई, विपिन कार्कीको जुन खालको चरित्रहरु देख्छु, त्यो हेर्दा मलाई लोभ लाग्छ । उहाँहरुले गरेको त्यो पात्र मैले गर्न पाएको भए के हुन्थ्यो होला जस्तो लाग्छ । तर, एउटा जीवनमा सबै कुरा सम्भव छैन ।’
राजबल्लभलाई सञ्चारकर्मीले अर्को प्रश्न गरे, ‘फिल्ममा काम गर्न अब सधैंका लागि अमेरिका छाडेर कहिले नेपाल आउनुहुन्छ ?’ यो उनका लागि अप्रत्यासित प्रश्न थियो । यद्यपि, जवाफमा उनले भने, ‘त्यसका लागि अमेरिका छाड्नै पर्दैन । केही गर्ने नै हो भनेर टिमले सोच्नुभएको छ भने अमेरिकाबाट नेपाल आएर काम गर्न समस्या छैन । अनि डायस्पोरामा बस्ने नेपालीको प्रतिनिधित्व गर्ने पनि त कोही चाहियो । म पूर्व-पश्चिमदेखि दुबई, कतार, यूरोप जहाँको पनि नेपालीको कथा भन्न तयार छु ।’
राजबल्लभ नेपाल आउनुमा दुईवटा उद्देश्य छ । एउटा ‘एक्टर’को प्रवर्द्धन भइहाल्यो । उनले आइतबार केही मिडियामा अन्तर्वार्ता दिनेछन् भने सोमबार प्रिमियरमा उपस्थिति जनाउनेछन् । फिल्म रिलिज भएपछि उनले हलमा दर्शकसँग पनि भेट गर्नेछन् । अर्को उद्देश्य भनेको उनको पहिलो कविता संग्रह ‘औरा’को विमोचन पनि हो । उनको काठमाडौं बसाइँ १२ दिनको रहने जनाइएको छ ।