नेपाली फिल्म क्षेत्रका लागि मंसिर र पुष महिना व्यापारको हिसाबले निराशाजनक रहन पुग्यो । दयाहाङ राई, सौगात मल्ल जस्ता ‘स्टार’का फिल्म समेत फ्लप भए । यो अवस्थामा शुक्रबारबाट प्रदर्शन भएको फिल्म ‘केटी हराएको सूचना’प्रति धेरैको अपेक्षा थियो । तर, फिल्मको दुई दिनको प्रदर्शन हेर्दा उत्साहित हुनुपर्ने अवस्था देखिँदैन । फिल्मले बक्स अफिसमा औसत सुरुवात गरेको छ ।
पहिलो दिन शुक्रबार काठमाडौंका हलहरुमा प्राप्त केही शोमा फिल्मको अकुपेन्सी सुखद् देखिएको थियो । तर, बहुसंख्यक शोमा ३० प्रतिशत पनि अकुपेन्सी रहेन । शनिबारको विदामा केही सुधार त देखियो तर त्यो अपेक्षाअनुसार थिएन । काठमाडौं, बनेपाका केही हलमा एकाध शो हाउसफुल नजिक देखिए पनि देशभरका धेरैजसो हलमा दर्शकको अभाव नै रह्यो ।
आइतबारबाट कामकाजी दिन सुरु भएकाले फिल्मको असली परीक्षा अब हुनेछ । दुई दिन फिल्म हेरेका दर्शकले कस्तो खालको प्रचार गर्छन्, फिल्मको व्यावसायिक भविष्य त्यसैले निर्धारण गर्नेछ । तर, फिल्मलाई दर्शकबाट मिश्रित प्रतिक्रिया प्राप्त छ । कतिले फरक शैलीको फिल्म भन्दै प्रशंसा गरेका छन् भने कतिले सुस्त गतिको कथावाचनलाई फिल्मको कमजोरी मानेका छन् ।
शुक्रबार र शनिबार फिल्मका जोडी नाजिर हुसेन र सृष्टि श्रेष्ठले बनेपासम्म पुगेर दर्शकसँग भेट गरेका थिए । सृष्टिले हलमा फरक-फरक उमेरका दर्शक देख्दा खुसी लागेको बताइन् । ‘हरेक उमेरका दर्शकले फरक-फरक हिसाबले फिल्मलाई लिनुभएको छ । कसैले विगत सम्झिनुभएको छ । युवापुस्ताले ट्राभल, एड्भेन्चर मन पराउनुभएको छ । त्यो कुराले खुसी लागेको छ,’ उनले भनिन् ।
नाजिर पनि हलमा भेटिएका दर्शकको प्रतिक्रियाबाट उत्साहित देखिए । ‘हरेकले फिल्मको कथावाचन शैली रुचाउनुभएको छ । म एकदमै खुसी छु,’ उनी भन्छन्, ‘हाम्रो फिल्म एकदमै मसलेदार होइन । तर, जुन किसिमको ‘वर्ड अफ माउथ’ मिलेको छ, त्यसले उत्साह थपेको छ ।’ फिल्ममा नाजिरले राम र सृष्टिले सीताको भूमिका निर्वाह गरेका छन् ।
३२ वर्षअघि ‘उजेली’ जस्तो ‘क्लासिक’ डकु-ड्रामा बनाएका दीपेन्द्र गौचनको निर्माण, लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा नाजिर र सृष्टिसहित सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, सुदीप पटेल, रुपेश मण्डल, अनिल कुर्मी, अर्जुन पोखरेल लगायतको अभिनय छ । फिल्मले दुई अलग पृष्ठभूमिका पात्रको कथा पेस गरेको छ ।