घरेलु बक्स अफिसमा सर्वाधिक कमाउने फिल्मको कीर्तिमान बनाएको ‘पूर्णबहादुरको सारंगी’ले अभिनेता विजय बरालको करिअर नै कायापलट गरिदिएको छ । यसअघि उनी सहायक भूमिकामा बढी देखिन्थे । पारिश्रमिक ५ लाख पाउन पनि उनलाई गाह्रो पर्थ्यो । तर, ‘सारंगी’को सफलतापछि उनको पारिश्रमिक ५ गुणा बढेको छ भने मुख्य भूमिकामा फिल्म अफरको ओइरो नै लागेको छ ।
‘सारंगी’को सफलतापछि थुप्रै फिल्म अस्वीकार गरेका उनी अब भने नयाँ फिल्ममा आबद्ध भएका छन् । पेपरक्लिपको ब्यानरमा निमाण हुन लागेको फिल्म ‘जनै हराएको बाहुन’मा उनी मुख्य भूमिकामा अनुबन्ध भएका हुन् । यसमा उनले २५ लाख बढी पारिश्रमिक बुझेको स्रोत बताउँछ । विजयले स्क्रिप्ट र चरित्र मन परेर फिल्ममा जोडिएको बताएका छन् ।
हिमाल न्यौपानेको निर्देशनमा बन्न लागेको फिल्मको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् । फिल्मको निर्मातामा सिआर बस्नेत, कमल न्यौपाने, आर.के. मानन्धर, विमल न्यौपाने, फिलिप डिसी र निशान्त श्रेष्ठ रहेका छन् । नवीन गुरुङको छायांकन रहने फिल्मको एसोसियट निर्देशकमा ‘प्रेमगीत ३’का कलाकार मनिष राउत छन् ।
यो फिल्मले गाउँबाट सहर आएका एक सरल ब्राह्मण व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उसको जीवनमा ल्याएको परिवर्तनलाई केन्द्रमा राख्ने जनाइएको छ । निर्माण कम्पनीका प्रमुख विमल न्यौपानेका अनुसार फिल्मले दर्शकलाई एक अनौठो र रोमाञ्चक यात्रामा लैजानेछ । यो वर्षको अन्त्यसम्ममा छायाङ्कन सुरु गर्ने लक्ष्य राखिएको फिल्म आगामी वर्ष प्रदर्शनमा आउनेछ ।