मिति : २०८१ माघ १५, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘पूर्णबहादुरको सारंगी २’ घोषणा, तर निर्देशक खोइ ?

फिल्मीखबर, काठमाडौं, 2025/01/27

purna bahadur ko sarangi

 

सर्वकालीन ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारंगी’को दोस्रो भाग अर्थात् सिक्वेल निर्माण हुने भएको छ । आइतबार काठमाडौंमा आयोजना गरिएको फिल्म सफलताको खुसीयाली कार्यक्रममा निर्माता विनोद पौडेलले सिक्वेल निर्माणको घोषणा गरेका हुन् । यो फिल्मसँगै उनले यसअघि नै पोस्टरमार्फत् घोषणा भइसकेको फिल्म ‘रोल नं १’ २०८२ सालमा प्रदर्शन हुने पनि जानकारी गराए ।

सेभेज सिज सिनेमाको ब्यानरमा बन्न लागेका दुई फिल्ममध्ये ‘रोल नं १’लाई जोन योञ्जनले निर्देशन गर्नेछन् । तर, ‘पूर्णबहादुरको सारंगी २’को निर्देशकको बारेमा भने जानकारी गराइएन । कार्यक्रममा अनावरण गरिएको फिल्मको घोषणा पोस्टरमा निर्देशकको नाम उल्लेख थिएन । निर्मातामा विनोद पौडेलको नाम मात्र पोस्टरमा देखिन्छ ।

उक्त कार्यक्रममा ‘सारंगी’का निर्देशक सरोज पौडेल पनि उपस्थित थिए । धेरैलाई लागेको थियो, निर्देशकमा उनकै नाम आउनेछ । तर, त्यसो भएन । निर्देशक बिना नै फिल्मको घोषणा गरिनु आफैंमा हास्यास्पद हो । किनकि, फिल्म भनेको निर्देशकीय माध्यम हो । निर्देशक बिना फिल्म बन्न सक्दैन । कतै विनोद आफैं निर्देशक बन्न लागेका त होइन ? शंका गर्ने ठाउँ भने छ ।

त्यसो त निर्देशक मात्र नभइ कलाकारको बारेमा पनि कुनै जानकारी गराइएको थिएन । बुझिए अनुसार ‘पूर्णबहादुरको सारंगी २’मा प्रकाश सपूत र अञ्जना बराइली दोहोरिने सम्भावना छ । तर, फिल्म सफलताको कार्यक्रममा प्रकाश उपस्थित थिएनन् । अञ्जना भने पोखरामा चलिरहेको फिल्म ‘महाभोज’को छायांकन नै रोकेर आएकी थिइन् । ‘सारंगी २’लाई २०८३ सालमा रिलिज गरिनेछ ।

 

purna bahadur ko sarangi


‘पूर्णबहादुरको सारंगी’ले विश्वभर कति कमायो ?

फिल्म सफलताको खुसीयाली कार्यक्रममा विश्वव्यापी ग्रस कलेक्सन रिपोर्ट पनि सार्वजनिक गरिएको थियो । जसअनुरुप फिल्मले नेपालमा ४८ करोड र विदेशमा २७ करोड हाराहारी कमाएको छ । अर्थात् विश्वभरबाट फिल्मले ७५ करोड कमाएको कार्यक्रममा जानकारी गराइयो । नेपाली फिल्मले नेपाल र विदेशमा जोडेको यो अहिलेसम्मकै उच्च अंक हो ।

उक्त कार्यक्रममा फिल्मका निर्देशक, कलाकार, प्राविधिकलाई कदर पत्र प्रदान गर्दै चेकसहितको खाम (बोनस) पनि बाँडिएको थियो । तर, बोनस रकम खुलाइएको थिएन । फिल्मका मुख्य अभिनेता विजय बरालले पाएको चेक भने एक करोडमाथिको रहेको कार्यक्रममा गाइँगुइँ सुनिएको थियो । उनी फिल्ममा ५ लाख पारिश्रमिक लिएर ५ प्रतिशत मुनाफाको हिस्सेदारीमा बसेका थिए ।