मिति : २०८१ माघ १७, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘मायावी’को रिलिज नजिकिँदै गर्दा पलले थाले ‘मोहर’को छायांकन

फिल्मीखबर, काठमाडौं, 2025/01/28

paul shah

 

जेल जीवनपछि अभिनेता पल शाहको फिल्मदेखि मेला-महोत्सवमा व्यस्तता निकै बढेको छ । गत जेठमा ‘पूजार सार्की’ र भदौमा ‘रावायण’ रिलिज भएपछि उनले दुई दर्जन बढी म्यूजिक भिडियोमा काम गरे । पुष र माघमा भने महोत्सवतिर धेरै देखिए । अब ९ महिनापछि उनी फिल्मको छायांकनमा फर्किएका छन् । सोमबारबाट उनले आफ्नो नयाँ फिल्म ‘मोहर’को छायांकन थालेका हुन् ।

काठमाडौंको कागेश्वरीस्थित गागलफेदीबाट छायांकन सुरु भएको फिल्ममा पलको जोडीको रुपमा दुई अभिनेत्री बेनिशा हमाल र नीति शाह देखिनेछन् । ओम प्रतीकले निर्देशनको जिम्मेवारी सम्हालेको फिल्ममा मिथिला शर्मा, लक्ष्मी गिरी, रबिन्द्र झा लगायतको पनि अभिनय रहनेछ । चुम्बन जङ्ग शाही निर्माता रहेको फिल्मलाई काठमाडौंसहित दाङ र रोल्पामा खिचिनेछ ।

आगामी वर्षको हरितालिका तीजमा रिलिज लक्ष्य राखिएको फिल्मको छायाँकारमा दिपेन बस्नेत छन् भने कुमार महर्जनको द्वन्द्व निर्देशन, सुरेश अधिकारी तथा एसडी योगीको संगीत र प्रमोद ढुङ्गाना र हर्क साउदको गीत रचना छ । मोहरको अर्थ रुपैयाँ भन्ने हुन्छ । विशेषगरी ६०/७० वर्षअघि यो शब्द प्रचलित थियो । पचास पैसाको एक मोहर हुन्छ ।

‘मोहर’को छायांकन चलिरहँदा पलले आगामी फागुन १४ गतेबाट प्रदर्शन हुन लागेको आफ्नो नयाँ फिल्म ‘मायावी’को प्रचारमा पनि समय दिनुपर्नेछ । एउटाको छायांकन र अर्कोको प्रचार एकसाथ गर्न पललाई ठूलै सकस पर्ने देखिन्छ । यद्यपि, उनले ‘मोहर’को छायांकन सुरु गर्नुअघि आफू उपस्थित भएका अधिकांश मेला-महोत्सवहरुमा ‘मायावी’को प्रचार गर्न कुनै कसर छाडेका थिएनन् ।