भोलि बुधबार (माघ १६ गते, शहीद दिवस)बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘एक्टर : टेक वन’को सोमबार साँझ भक्तपुरस्थित क्यूएफएक्स सिनेमाजमा आयोजित प्रिमियर दुईवटा कारणले विशेष बन्न पुग्यो । पहिलो, १० वर्षपछि फिल्ममा पुनरागमन गरेका अभिनेता राजबल्लभ कोइरालाको उपस्थिति । दोस्रो, फिल्म हेरेपछि उपस्थित फिल्मकर्मीबाट सकारात्मक प्रतिक्रियाको ओइरो ।
प्रिमियरमा उपस्थित अधिकांशले फिल्मको विषयवस्तुदेखि कलाकारहरुको अभिनयको मुक्तकण्ठले प्रशंसा गरेका थिए । फिल्ममा विशेष भूमिकामा अभिनय समेत गरेका अभिनेता तथा निर्देशक निश्चल बस्नेतले त फेसबुकमै लेखेका छन्, ‘सुस्ताएको फिल्म बजार ‘एक्टर’ले तताउँछ जस्तो छ । कलाकारको प्रदर्शन, चुस्त सम्पादन, साउन्ड मिक्सिङ र निर्देशकको काम राम्रो छ ।’
प्रिमियरमा ‘इन्टु मिन्टु लण्डनमा’की निर्देशक तथा कोरियोग्राफर रेनशा वान्तवा राईले फिल्म राम्रो र रमाइलो लागेको प्रतिक्रिया दिइन् । उनले फिल्मका कलाकारहरुको तारिफमा भनिन्, ‘दिव्या रायमाझीलाई फिल्म क्षेत्रमा स्वागत छ । पहिलो फिल्म भए पनि उनको काम राम्रो छ । र, निकै राम्री देखिएकी छन् । आना शर्मा र प्रदीप खड्का पनि सशक्त छन् । फिल्म साँचिक्कै राम्रो छ ।’
अभिनेत्री वर्षा राउतले पनि फिल्मको तारिफमा शब्द खर्चिइन् । सबै कलाकारले आफ्नो चरित्रलाई पूर्ण न्याय गरेको बताउँदै उनले सञ्चारकर्मीसँग भनिन्, ‘धेरैपछि राजबल्लभ दाईलाई स्क्रिनमा देख्न पाउँदा मलाई एकदमै खुसी लाग्यो । दिव्याको प्रस्तुति पनि एकदमै राम्रो छ । उनी नयाँ भए पनि एक्टरमा हुनुपर्ने औरा छ । फिल्मले दर्शकलाई बाँधेर राख्न सक्छ ।’
राजन भुसालको निर्देशनमा तयार भएको फिल्ममा प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौलालगायतको प्रमुख भूमिका छ । फिल्मको स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन् । फिल्ममा निर्माता थमन कुमार भण्डारी, क्रियटिभ प्रोड्युसर मोती कार्की र सह-निर्माता अनीश भुसाल रहेका छन् ।