मिति : २०८१ माघ १७, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘एक्टर : टेक वन’को प्रदर्शन रोक्न अदालतको आदेश

फिल्मीखबर, काठमाडौं, 2025/01/28

एक्टर : टेक वन' नेपालसहित अन्तर्राष्ट्रिय बजारमा एकैदिन – Online Khabar

 

काठमाडौं जिल्ला अदालतले भोलि बुधबारबाट प्रदर्शनमा आउने भनिएको फिल्म ‘एक्टर : टेक वन’को प्रदर्शन रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । मंगलबार भएको प्रारम्भिक सुनुवाईपछि न्यायाधीश ढाकाराम पौडेलको एकल इजलासले उक्त आदेश दिएको हो । अदालतको आदेशसँगै अब फिल्म भोलिबाट प्रदर्शनमा आउने छैन ।

माघ २२ गते दुवै पक्षलाई छलफलका लागि बोलाउँदै अदालतले आदेशमा भनेको छ, ‘निवेदकको चलचित्र ‘एक्टर’ प्रदर्शन भइरहेको र प्रतिवादी कम्पनीबाट निर्मित चलचित्र प्रदर्शनको संघारमा रहेको भन्ने देखिएकोले उक्त छलफलको अवधिसम्म सुविधा र सन्तुलनको हिसाबले ‘एक्टर : टेक वन’लाई सो अवधिसम्म प्रदर्शन नगर्नु नगराउनु भनी चलचित्र विकास बोर्ड समेत विपक्षीका नाममा यो अल्पकालीन आदेश जारी गरिदिएको छ ।’

गत माघ ४ गते प्रदर्शनमा आएको फिल्म ‘एक्टर’को प्रस्तुतकर्ता कम्पनी नेपाली डायस्पोरा इन्टरटेन्मेन्टको तर्फबाट सम्राट थापाले आफ्नो फिल्मको नाम र कथावस्तु चोरी गरेर ‘एक्टर : टेक वन’ निर्माण गरिएको दाबीसहित फिल्मको प्रदर्शन रोक्न माग गर्दै आइतबार काठमाडौं जिल्ला अदालतमा रिट दायर गरेका थिए ।  रिटमा उनले फिल्मको नाम परिवर्तनको माग समेत गरेका छन् ।

राजन भुसालको निर्देशनमा तयार भएको ‘एक्टर : टेक वन’मा प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, सुशील सिटौला, निश्चल बस्नेत लगायतको अभिनय छ । थमन भण्डारीको निर्माण रहेको फिल्मको गीत र ट्रेलरबाट राम्रो हाइप बनेको थियो । तर, नामका कारण उत्पन्न विवाद अदालत प्रवेश गर्दा फिल्मको रिलिज नै रोकिन पुगेको छ ।

‘एक्टर : टेक वन’को रिलिज रोक्न माग गर्दै अदालतमा रिट दायर हुँदा समेत मल्टीप्लेक्सहरुले फिल्मको बुकिङ खुलाएका थिए । केही मात्रामा टिकट बिक्री पनि भइसकेको छ । अब अदालतको आदेशसँगै टिकट बिक्रीको पैसा हलहरुले सम्बन्धित व्यक्तिलाई फिर्ता गर्नुपर्ने भएको छ । अदालतले फिल्मको रिलिज रोक्न दिएको अन्तरिम आदेशले निर्मातालाई ठूलो आर्थिक क्षति भएको छ ।