अंग्रेजी कवि तथा नाटककार विलियम शेक्सपियरले कहीँ भनेका थिए, ‘नाममा के नै छ र ?’ तर, नेपाली फिल्म क्षेत्रमा भने नाममै सबथोक छ । नामकै लागि लडाइँ हुने गरेको छ । तात्तातो उदाहरण ‘एक्टर’ र ‘एक्टर : टेक वान’ हुन् । गत माघ ४ गते प्रदर्शित ‘एक्टर’का निर्माताले नाम चोरेर फिल्म बनाएको भन्दै ‘एक्टर : टेक वान’विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्धा नै दायर गरे ।
‘एक्टर’का निर्माता सम्राट थापाले दिएको रिट निवेदनको आधारमा मंगलबार जिल्ला अदालतका न्यायाधीश ढाकाराम पौडेलको एकल इजलासले ‘एक्टर : टेक वान’को रिलिज रोक्न अन्तरिम आदेश जारी गरेको छ । प्रदर्शनको एक दिन अगाडि अदालतले फिल्मको रिलिज रोक्न आदेश दिँदा निर्मातालाई ठूलो आर्थिक क्षति भएको छ ।
तर, उस्तै नाममा फिल्म बनेको यो पहिलो पटक भने होइन । यसअघि पनि एउटै नाममा अगाडि-पछाडि शब्द थपथाप गरेर थुप्रै फिल्म बनेका छन् । ‘जारी’-‘जार’, ‘पशुराम’-‘जय परशुराम’, ‘भगवान’-‘भगवान सबैको’, ‘नायक’-‘खलनायक’, ‘बादल’-‘बादल पारी’, ‘अर्जुन’-‘अर्जुन देव’, ‘डन’-‘मिस्टर डन’, ‘मेरो हजुर’-‘ए मेरो हजुर’, ‘जंगल’-‘जंगल लभ’ लगायतका फिल्म यसका उदाहरण हुन् ।
फिल्मको नाम मिलेको विषयलाई लिएर यसअघि निर्माताहरुबीच विवाद भने कमै भएको थियो । तर, यसपटक ‘एक्टर’ र ‘एक्टर : टेक वान’को विवाद अदालत नै प्रवेश गर्यो । यतिबेला फिल्मकर्मीहरुले सामाजिक सञ्जालमार्फत् रिलिजको एक दिनअघि ‘एक्टर : टेक वान’को प्रदर्शन रोक्न अदालतले आदेश जारी गर्नु दुःखद् रहेको भन्दै प्रतिक्रिया जनाइरहेका छन् ।
चलचित्र ऐन २०२६ को नियमावली, नियम १७ को ‘क’मा ‘कसैले पनि अन्य इजाजत प्राप्त गरेको फिल्मको नामसँग मिल्ने गरी सो फिल्म जाँच भएको मितिले दश वर्षसम्म अर्को फिल्म बनाउन पाइँदैन’ भनेर उल्लेख गरिएको छ । तर, राज्यकै निकाय चलचित्र विकास बोर्डले उस्तै नाम गरेका फिल्मलाई निर्माण इजाजत दिँदा ‘एक्टर’ र ‘एक्टर : टेक वान’बीच विवाद उत्पन्न भएको प्रष्ट छ ।