मंगलबार काठमाडौं जिल्ला अदालतले गत माघ ४ गते प्रदर्शन भएको फिल्म ‘एक्टर’सँग नाम मिलेको विषयमा बुधबार (आज)बाट प्रदर्शन हुने भनिएको ‘एक्टर : टेक वान’को प्रदर्शन रोक्न अन्तरिम आदेश जारी गर्यो । योसँगै फिल्मको प्रदर्शन रोकिएको छ । अर्को आदेश नआउँदासम्म अब फिल्म रिलिज हुन पाउने छैन । जसले गर्दा फिल्मका निर्मातालाई ठूलो आर्थिक क्षति भएको छ ।
अदालतको आदेशलाई लिएर यतिबेला फिल्मकर्मीहरूले विभिन्न प्रतिक्रिया जनाइरहेका छन् । कतिले अदालतको आदेश एकतर्फी रुपमा आएको टिप्पणी गरिरहेका छन् भने कतिले एउटै नाममा दुईवटा फिल्मलाई निर्माण इजाजत दिनु सरकारी निकाय चलचित्र विकास बोर्डको हेलचेक्राइ रहेको तर्क गरेका छन् । कतिपयले अदालतको अन्तरिम आदेशलाई स्वागत गरेको पनि देखिएको छ ।
निर्देशक निश्चल बस्नेतले मंगलबार फेसबुकमा एक पोस्ट गर्दै दुई फिल्मबीच शीर्षकलाई लिएर उत्पन्न विवादमा नाम दर्ता गर्ने संस्था चलचित्र विकास बोर्ड जवाफदेही हुनुपर्ने धारणा व्यक्त गरेका छन् । फिल्म निर्माण गर्ने इजाजत र प्रदर्शन गर्ने इजाजतपत्र राज्यका निकायबाट पाइसकेपछि कुनै रोकावट फिल्म निर्माण र सेन्सर भइसकेपछि प्रदर्शन गर्न कसैले पनि रोक्न नमिल्ने उनको तर्क छ ।
‘एक्टर : टेक वान’मा महत्त्वपूर्ण भूमिकामा अभिनय समेत गरेका निश्चल लेख्छन्, ‘समस्या भएको हो भने इजाजत दिने अध्यक्षलाई स्पष्टीकरण र मुद्दा लाग्नुपर्ने विकास बोर्डलाई हो कि चलचित्रलाई ? ‘एक्टर : टेक वान’को प्रदर्शन रोकियो भने त्यसको क्षतिपूर्तिको मुद्दा ‘एक्टर : टेक वान’ले विकास बोर्डलाई र उजुरी गर्नेलाई त गर्ने होला नि हैन ?’ उनको भनाइमा धेरैले सहमति जनाएका छन् ।
हास्य अभिनेता दीपकराज गिरी भने एउटै नाममा पछाडि पुच्छर झुन्ड्याएर नाम राख्ने परम्परा बन्द गर्नुपर्ने बताएका छन् । बुधबार बिहान उनले फेसबुकमा लेखेका छन्, ‘उस्तै नाम चाहिए पर्यायवाची शब्द खोज्नुपर्छ । एउटै नाममा पछाडि फुर्का गाँसेर, पुच्छर झुन्ड्याएर नाम राख्ने परम्परा पनि बन्द गरौं ।’ उनले अहिलेलाई आफ्नो समर्थन ‘एक्टर : टेक वान’लाई रहेको पनि जनाएका छन् ।
दीपकले मंगलबार अर्को स्टाटसमा फिल्म क्षेत्रमा बढ्दो मुद्धा मामिला गर्ने प्रवृत्तिप्रति कटाक्ष गर्दै लेखेका थिए, ‘हरेक दिन चलचित्र बनाउन नयाँ-नयाँ निर्माता एअरपोर्टमा । फिल्म रिलिज चाहिँ कहाँ गर्ने ? हलमा हो कि कोर्टमा ?’ उनको कुरामा कलाकार निर्मल शर्माले सहमति जनाउँदै हरेक समस्या समाधान गर्न अदालत चाहिए संघसंस्थाको आवश्यकता केका लागि भनेर प्रश्न गरेका छन् ।
कलाकार विजय लामाले ‘एक्टर: टेक वान’लाई समर्थन जनाउँदै मुद्दा हालेर क्षति पुर्याउने काम राम्रो नरहेको बताएका छन् । उनी लेख्छन्, ‘बल्ल बल्ल नेपाली चलचित्र जगतले के राम्रो गर्ला जस्तो लाग्दा यसरी सम्पूर्ण चलचित्र क्षेत्रलाई नै बज्रपात लाग्ने गरी यस्तो अवस्था सृजना गर्नु गलत, गलत, गलत हो । अब जसले जे गरे पनि भयो । अन्तिम घडीमा यसरी चाल चल्नु कदापि ठीक होइन ।’
अदालतले ‘एक्टर : टेक वान’को रिलिज रोक्न आदेश जारी गरेपछि फिल्मलाई न्यायको माग गर्दै सामाजिक सञ्जालमा ‘ह्यासट्याग’ अभियान पनि सुरु भएको छ । फिल्मका शीर्ष अभिनेता राजबल्लभ कोइरालाले ‘जस्टिस फर एक्टर : टेक वान’ भन्दै फेसबुकमा गरेको पोस्ट दिव्यदेव, अमीर गौतम, विजय बराल लगायतका थुप्रै कलाकारहरुले सेअर गर्दै फिल्मलाई न्यायको माग गरेका छन् ।