नेपाली कलाकारहरुमा सबैभन्दा धेरै हरर जनराको फिल्ममा काम गर्ने यदि कोही छ भने ती प्रियंका कार्की हुन् । ‘आवरण’, ‘माला’ र ‘चि मुसी चि’ गरी उनका तीनवटा हरर फिल्म प्रदर्शन भइसकेका छन् । एउटा हरर सर्ट फिल्ममा पनि उनले काम गरेकी छन् । तर, उनका कुनै हरर फिल्मले दर्शक तर्साउन भने सकेनन् । अब उनको नयाँ हरर फिल्म ‘ममी’ यही माघ २५ गते प्रदर्शन हुँदैछ ।
धेरै हरर फिल्ममा काम गरेको अनुभवमा प्रियंकालाई नेपालमा बन्ने हरर फिल्ममा स्क्रिप्टको ५० प्रतिशत पनि आउँदैन भन्ने लाग्छ । उनी भन्छिन्, ‘कतिचोटी स्क्रिप्टमा आएको कुरा स्क्रिनमा उत्रिँदैन । स्क्रिप्ट जति सशक्त हुन्छ, फिल्म त्यति सशक्त हुँदैन । किनकि, यहाँ धेरै ‘कम्प्रमाइज’ गरिन्छ । स्क्रिप्टमा लेखेको ५० प्रतिशत पनि उत्रिँदैन । यो हरेक जनरामा हुन्छ ।’
कलाकारले स्क्रिप्ट र मेकरहरुले बोलेको कुरामा विश्वास गरेर काम गर्ने भएकाले प्रायः फिल्म फ्लोरमा गएपछि विग्रने गरेको उनको अनुभव छ । भन्छिन्, ‘हामीले त मेकरको बोली र स्क्रिप्टमा विश्वास गरेर काम गर्छौं । तर, फ्लोरमा गएपछि दुई/तीन दिनमै थाहा हुन्छ कि यो भन्या जस्तै बन्दैन भनेर । तर, हामी बाँधिसकेका हुन्छौं, त्यसैले फिल्म सकाउनै पर्छ । यस्तो अवस्था धेरै आएको छ ।’
‘ममी’लाई लिएर भने प्रियंका आशावादी देखिन्छिन् । उनलाई स्क्रिप्ट पढ्दा स्क्रिनप्ले कसिलो लागेको रहेछ । तर, उनी के प्रष्ट पार्न चाहन्छिन् भने फिल्मभित्र ५/५ मिनेटमा तर्साउने दृश्य छैन । हररले कथालाई हाँकेको उनको भनाइ छ । भन्छिन्, ‘म आज पनि फिल्ममा भूतै भूत आउँछ भनेर भन्दिनँ । यो एउटा साइकोलोजिकल फ्यामिली ड्रामा हो, जसमा हरर मिसिएको छ ।’
‘ममी’लाई फरक-फरक दृष्टिकोणले पनि हेर्न मिल्ने उनको बुझाइ छ । ‘फिल्ममा मेरो क्यारेक्टरले भूत देख्यो रे, तर त्यो देखेको हो कि होइन भन्ने पनि प्रश्न हुन सक्छ । कतै फिल्ममा मेरो पात्रको मानसिक सन्तुलन ठीक छैन कि !,’ उनले अगाडि भनिन्, ‘समाज र परिवारको दबाब अनि मनको कुरा व्यक्त गर्न नसकेर म आफैं ‘साइको’ भइसके कि भन्ने हिसाबले पनि फिल्मलाई हेर्न सकिन्छ ।’