दिवाकर भट्टराई लभस्टोरी फिल्म बनाउने निर्देशकको रुपमा कहलिएका छन् । ‘मेरो जीवन साथी’, ‘स्टूपिड मन’, ‘ऐश्वर्य’बाट उनले लभस्टोरीमा आफूलाई प्रमाणित गरे । एक हिसाबले उनी निर्देशित ‘क्याप्टेन’ पनि लभस्टोरी नै थियो । यतिबेला एक्सन कथावस्तुमा फिल्म ‘नरसिंहा’ बनाइरहेका उनको लामो समयपछि पूर्ण लभस्टोरी फिल्म ‘मायावी’ आगामी फागुन १४ गते प्रदर्शनमा आउँदैछ ।
फिल्म लभस्टोरी भए पनि यसपटक आफ्नो मनको कथा भन्न पाएकोमा दिवाकर खुसी छन् । भन्छन्, ‘यो मैले मनबाट बनाएको फिल्म हो । यसमा मनदेखि कथा भन्न खोजेको छु । यो कथा भन्न सक्छु भनेर नै फिल्म बनाएको हुँ । म ‘मायावी’बाट आफ्नो करिअर सुरु भएको मान्छु । म कस्तो निर्देशक हुँ भनेर यसबाट देखाउन खोजेको छु ।’
यसपटक फिल्ममा दर्शकले फरक स्वादको प्रेमकथा हेर्न पाउने उनको दाबी छ । ‘खुशी र सुःख भन्ने फरक कुरा हो । कहिलेकाहीँ हामी जहाँ बाँचिरहेका छौं, त्यहाँ सुःख खोज्दा खुशी हराएको हुन्छ । सामान्य एउटा मानिस कुन परिवेशमा खुशी हुन सक्छ र सुःख अनुभूति गर्छ भन्ने कथा फिल्ममा छ,’ उनले प्रष्ट पारे । उनी फिल्मलाई मायाको प्रतीक भन्न रुचाउँछन् ।
दिवाकरको भनाइमा ‘मायावी’ प्रेम र त्यागको कथा हो । ‘दुनियाँमा प्रेम पाउनेभन्दा त्याग्नेको कथा नै मजबुत हुन्छ । ‘मायावी’ पीडा भएर पनि खुशी हुने पात्रको कथा हो,’ उनी अगाडि भन्छन्, ‘कुनै पनि चिज पाएर गुमाउन सकिन्छ, तर गुमाएर पनि पाइरहनु चाहिँ ‘मायावी’ हो । प्रेमको त्यही त्यागको कथामा हामीले फिल्म बनाएका छौं । फिल्मले प्रेमको परिभाषामा नयाँपन दिनेछ ।’
दिवाकर स्वयंको लेखनमा तयार भएको फिल्ममा अभिनेता पल शाह र अभिनेत्री दीपिका प्रसाँई मुख्य भूमिकामा छन् । उनीहरुकै पात्र वरपर फिल्मको कथा केन्द्रित छ । राजाराम पौडेल, लक्ष्मी गिरी, प्रशान्त ताम्राकार, सुशील सिटौला, करिश्मा श्रेष्ठ लगायतको पनि यसमा अभिनय छ । ‘मायावी’बाट सन् २०१६ को ‘म्यान हन्ट इन्टरनेशनल नेपाल’का विजेता समीम खानले डेब्यु गरेका छन् ।