गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘केटी हराएको सूचना’ले व्यापारमा सुधारका लागि संघर्ष गरिरहेको भए पनि समीक्षा राम्रो प्राप्त भइरहेको छ । जसले गर्दा फिल्मप्रति दर्शकहरुमा चासो बढ्न थालेको छ । यही क्रममा मंगलबार महिला उद्यमी संघ नेपालका २ सय बढी सदस्यहरुले काठमाडौंको जमलस्थित विश्वज्योती सिनेप्लेक्सको एउटा हल नै ‘बुक’ गरेर फिल्म हेरेका छन् ।
महिला उद्यमीहरुसँग भेट गर्न फिल्मका निर्देशक दीपेन्द्र गौचन र अभिनेत्री सृष्टि श्रेष्ठ हलमै पुगेका थिए । फिल्म हेरेपछि महिला उद्यमीहरुले कथावस्तु, कलाकारको अभिनय र लोकेसन मनपरेको प्रतिक्रिया दिए । संघकी एक सदस्यले फिल्म महिलामुखी रहेको धारणा व्यक्त गर्दै मधेश आन्दोलनलाई पनि सम्झाएको बताएकी थिइन् ।
बुधबार (आज) प्रदर्शन हुने भनिएको ‘एक्टर : टेक वान’को नाम विवादका कारण काठमाडौं जिल्ला अदालतले रिलिज रोकिदिँदा यसको फाइदा ‘केटी हराएको सूचना’लाई भएको छ । एकातिर फिल्मको शो कटौती हुन पाएन भने अर्कोतिर बुधबार सहिद दिवस र बिहीबार सोनाम ल्होछार गरी दुईवटा सार्वजनिक विदाको फाइदा उठाउन सक्ने अवसर पनि जुरेको छ ।
दीपेन्द्र गौचन स्वयंको लेखन रहेको फिल्ममा सृष्टिसहित नाजिर हुसेन, सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर लगायतको अभिनय छ । कलाकार अमितेष शाह विशेष भूमिकामा छन् । फिल्मको ९० प्रतिशत दृश्यमा सृष्टि र नाजिर मात्र देखिन्छन् । एउटै दृश्य १० मिनेटसम्मका छन् । फिल्मले मधेशी युवक र पहाडी युवतीबीचको सम्बन्धको कथा भन्छ ।