दुई फिल्म ‘एक्टर’ र ‘एक्टर : टेक वान’बीच नामलाई लिएर उत्पन्न विवाद टुंगिएको छ । बिहीबार दुवै फिल्मका निर्माताबीच भएको लामो छलफलपछि ‘एक्टर : टेक वान’लाई प्रदर्शन गर्न दिने सहमति जुटेको हो । दुवै फिल्मको निर्माण कम्पनीले जारी गरेको प्रेस वक्तव्यमा ‘एक्टर’ निर्माताले ‘एक्टर : टेक वान’विरुद्ध काठमाडौं जिल्ला अदालतमा दायर भएको मुद्धा फिर्ता लिने जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘आज माघ १७ गते ‘एक्टर’का निर्माता नेपाली डायस्पोरा इन्टरटेन्मेन्ट तथा ‘एक्टर : टेक वान’का संयुक्त निर्माताहरु अदृत फिल्म्स र मोती फिल्मबीच आजकै मितिबाट ‘एक्टर : टेक वान’लाई देशव्यापी प्रदर्शन गर्न दिने सहमति गरियो । काठमाडौं जिल्ला अदालतमा प्रतिलिपी अधिकार ऐन बमोजिम उचित क्षतिपूर्ति दिलाई पाउँ भनि दायर गरेको मुद्धा ‘एक्टर : टेक वान’लाई अझै थप क्षतिबाट बचाउनका लागि फिर्ता लिने सहमति भएको छ ।’
‘एक्टर’को प्रस्तुतकर्ता कम्पनी नेपाली डायस्पोरा इन्टरटेन्मेन्टको तर्फबाट सम्राट थापाले आफ्नो फिल्मको नाम र कथावस्तु चोरी गरेर ‘एक्टर : टेक वान’ निर्माण गरिएको दाबीसहित फिल्मको प्रदर्शन रोक्न माग गर्दै आइतबार काठमाडौं जिल्ला अदालतमा रिट दायर गरेका थिए । त्यही रिटको आधारमा अदालतले मंगलबार ‘एक्टर : टेक वान’को तत्कालका लागि प्रदर्शन रोक्न आदेश जारी गरेको थियो । जसले गर्दा फिल्म बुधबारबाट प्रदर्शनमा आउन सकेन ।
‘एक्टर’ र ‘एक्टर : टेक वान’का निर्माताबीच सहमति जुटेसँगै अब ‘एक्टर : टेक वान’लाई रिलिज गर्न बाटो खुलेको छ । शुक्रबार अदालत खुलेपछि ‘एक्टर’का निर्माताले मुद्धा फिर्ता लिने बुझिएको छ । मुद्धा फिर्ता भएपछि ‘एक्टर : टेक वान’को नयाँ प्रदर्शन मिति घोषणा गर्ने तयारीमा निर्माता छन् । यो फिल्ममा प्रदीप खड्का, राजबल्लभ कोइराला, निश्चल बस्नेत लगायतको अभिनय छ ।