हास्य टेलिसिरियल ‘सक्किगोनि’ समूहले निर्माण गरेको पहिलो फिल्म ‘लाज शरणम्’को टिजर सार्वजनिक गरिएको छ । बिहीबार सोनाम ल्होसारको अवसर पारेर सार्वजनिक टिजरले फिल्मको कथावस्तुबारे जानकारी गराउँछ । विदेशबाट डोल्पा पुगेको कफिन (शव राखेर ल्याइने बाकस)को वरिपरि घुमेको टिजरले वैदेशिक रोजगारीमा जानुपर्ने नेपाली युवाको बाध्यतालाई पनि चित्रण गर्छ ।
डोल्पाको एक गाउँमा घरघरको छतमा धुपीको राँको बालेको दृश्यबाट सुरु भएको टिजर ‘सक्किगोनि’का चर्चित पात्र ‘पाँडे’ अर्थात् अर्जुन घिमिरेको इन्ट्रीसँगै सकिन्छ । यो बीचमा कफिनका कारण उत्पन्न हुने घटनाक्रमलाई रोचक ढंगले देखाइएको छ । टिजरमा सिताराम कट्टेल (धुर्मुस)को गेटअप र बोल्ने शैलीले ध्यान खिच्छ । उनी नेताको भूमिकामा छन् ।
कुमार कट्टेलको निर्देशनमा तयार भएको फिल्ममा सितारामसहित विजय बराल, अर्जुन घिमिरे, मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अर्पण थापा, माला लिम्बू, सागर लम्साल, हरिष निरौला, कमलमणि नेपाललगायतको अभिनय छ । निर्देशक कट्टेल स्वयंको कथा रहेको फिल्मको पटकथा लेखनमा उनलाई दीपक आचार्यले सघाएका छन् ।
महाशिवरात्रिको दिन पारेर आगामी फागुन १४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा नवीन श्रेष्ठ निर्माता तथा राम नरेश साह र सृजना खड्का सह-निर्माताको रूपमा रहेका छन् । यसको छायांकन सुदीप बरालले गरेका हुन् । शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको फिल्मलाई मिलन श्रेष्ठले सम्पादन गरेका हुन् । फिल्मको एउटा गीतमा काठमाडौंका मेयर बालेन शाहले स्वर दिएका छन् ।