गत माघ ४ गते प्रदर्शित फिल्म ‘एक्टर’सँग नाम मिलेको विषयमा विवाद उत्पन्न भएपछि काठमाडौं जिल्ला अदालतको आदेशमा प्रदर्शन रोकिएको फिल्म ‘एक्टर : टेक वान’ भोलि शुक्रबारबाट प्रदर्शनमा आउने भएको छ । ‘एक्टर’का निर्मातासँग सहमति जुटेपछि फिल्मलाई शुक्रबारबाट प्रदर्शन गर्न लागिएको हो । बिहीबार पत्रकार सम्मेलन गर्दै निर्माताले यसबारेमा जानकारी गराए ।
दुवै ‘एक्टर’का निर्माताबीच सहमति भएपछि वितरक कम्पनी डिसीएनले हलहरुलाई शुक्रबारबाट फिल्म चलाउन आग्रह गर्दै इमेल पठाएको थियो । यसपछि देशको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्ससहितका हलले फिल्मको बुकिङ खुलाएका छन् । चलचित्र विकास बोर्डले पनि नेपाल चलचित्र संघलाई फिल्मको रिलिजमा सहजीकरण गरिदिनका लागि पत्र पठाएको छ ।
गत आइतबार ‘एक्टर’को प्रस्तुतकर्ता कम्पनी नेपाली डायस्पोरा इन्टरटेन्मेन्टको तर्फबाट सम्राट थापाले आफ्नो फिल्मको नाम तथा कथावस्तु चोरी गरेर ‘एक्टर : टेक वान’ निर्माण गरिएको दाबीसहित फिल्मको प्रदर्शन रोक्न माग गर्दै अदालतमा रिट दायर गरेका थिए । त्यही रिट निवेदनको आधारमा अदालतले फिल्मको रिलिज रोक्न अन्तरिम आदेश जारी गरेको थियो ।
बिहीबार दुवै फिल्मका निर्माताबीच वार्ता भएपछि नामलाई लिएर उत्पन्न विवाद सुल्झिएको हो । दुवै फिल्मको निर्माण कम्पनीले जारी गरेको संयुक्त प्रेस वक्तव्यमा ‘एक्टर’का निर्माताले ‘एक्टर : टेक वान’विरुद्ध काठमाडौं जिल्ला अदालतमा दायर भएको मुद्धा फिर्ता लिने जनाइएको छ । शुक्रबार अदालत खुलेपछि ‘एक्टर’का निर्माताले मुद्धा फिर्ता लिनेछन् ।
राजन भुसालको निर्देशनमा तयार भएको ‘एक्टर : टेक वान’मा प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, निश्चल बस्नेत लगायतको अभिनय छ । थमन कुमार भण्डारी निर्माता रहेको फिल्मको सोमबार भएको प्रिमियरमा उत्साहजनक प्रतिक्रिया मिलेको थियो । ठूलो चर्चा र नाम चलेका कलाकारहरु भएकाले फिल्मले सुखद् व्यापार गर्न सक्ने प्रक्षेपण गरिएको छ ।