अभिनेता दीलिप रायमाझीकी छोरी दिव्याको पहिलो फिल्म हो, ‘एक्टर : टेक वान’ । तर, उनको डेब्यु फिल्म कहिले भिडन्तको डरले सर्यो त कहिले नामलाई लिएर विवाद उत्पन्न भएपछि अदालतले नै रिलिज रोकिदियो । गत कात्तिक १५ गतेबाट सरेर यो फिल्म माघ १६ गते आइपुगेको थियो । तर, अदालतले रिलिज रोक्न आदेश दिएपछि उक्त मितिमा पनि फिल्म रिलिज हुन पाएन ।
अदालतमा मुद्धा हालेका अर्को ‘एक्टर’का निर्मातासँग बिहीबार सहमति भएपछि अब दिव्याको फिल्म भोलि शुक्रबारबाट दर्शकले हेर्न पाउने भएका छन् । फिल्मको रिलिजबारे जानकारी दिन बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनी निराश र भावुक देखिइन् । अदालतबाट फिल्मको रिलिज रोक्न आदेश आउँदा उनी निकै दुःखी भएकी रहेछिन् ।
‘फिल्मको रिलिज नै रोकिएपछि ‘म कहाँ आएँ’ भन्ने भएको थियो । मैले त कतिधेरै सपना र अपेक्षा बोकेर आएको थिएँ । रिलिजको एक दिनअघि फिल्म नै रिलिज नहुने भन्ने सुनेँपछि एकदमै दुःख लागेको थियो,’ यति भन्दाभन्दै उनी भक्कानिइन् । यसपछि बोल्नै सकिनन् । र, खल्तीबाट टिस्यु निकालेर आँसु पुछिन् ।
पत्रकार सम्मेलनको अन्त्यमा उनलाई एउटा प्रश्न सोधियो, ‘यस्ता घटनाले तपाईंजस्तो नवप्रवेशीलाई कस्तो प्रभाव पार्छ ?’ जवाफमा उनले भनिन्, ‘यस्तो घटना कसैले पनि भोग्नु नपरोस् । फिल्म क्षेत्रमा छिर्दा नै यस्तो ‘इन्सिडेन्ट’ हुँदा म त के भनुँ र के गरुँ भन्ने अवस्थामा पुगेको थियो । लामो समयपछि मेरो सपना पूरा हुँदैछ भनेर म एकदमै खुसी थिएँ । जब फिल्मको रिलिज रोकियो भन्ने खबर सुनेँ, म स्तब्ध भएँ । अब फिल्म रिलिज हुने कुराले अलि ‘रिलिफ’ महसुस गरेकी छु ।’
फिल्मका मुख्य अभिनेता प्रदीप खड्काले भने घुमाउरो रुपमा अदालतले विवेक प्रयोग नगरेको टिप्पणी गरे । ‘सरकारी निकायबाट स्वीकृति लिएर अनि सेन्सर पास भइसकेपछि पनि रिलिजको संघारमा आएर फिल्म रोकिन सक्छ भन्देखि यसले के उदाहरण पेस गर्छ ? यसमा विवेक प्रयोग भएको छैन । कहाँ-कहाँबाट विवेक प्रयोग भएन, त्यो पछि समीक्षा गरौंला,’ उनी सुनिए ।
फिल्मको सेन्सर भइसकेपछि रिलिज हुन पाउनुपर्ने प्रदीपको धारणा छ । भन्छन्, ‘सेन्सर पास भइसकेपछि फिल्म रिलिज हुनैपर्छ । रिलिज हुँदै गर्दा पनि बहस र सल्लाह हुनसक्छ । कोही पीडित हो भने त्यो निर्क्यौल गरेर क्षतिपूर्ति पनि तिराउन सकिन्छ । तर, यो फिल्मको हकमा यी कुनै पनि विषय होइन ।’ यद्यपि, विवाद समाधान भएकोमा उनले खुसी व्यक्त गरे ।
त्यस्तै, फिल्मका निर्देशक राजन भुसाल अदालतबाट प्रदर्शन रोक्न आदेश आएपछि अब फिल्म नै नबनाउने मनस्थितिमा पुगेका रहेछन् । ‘२/३ दिनदेखि जुन किसिमको ‘मेन्टल प्रेसर’ थियो, त्यसले गर्दा म यो क्षेत्र नै छाडिदिन्छु भन्ने अवस्थामा पुगेको थिएँ । अब दर्शकहरुले राम्रो काम गर्न सक्ने रहेछ भन्नुभएछ भने आगामी दिनमा पनि फिल्म बनाउँछु । नभए सोच्न बाध्य हुनेछु,’ उनले भने ।