लोककथाका प्रणेता मानिने गुरुप्रसाद मैनालीको चर्चित कथासंग्रह ‘नासो’मा सङ्ग्रहित ‘परालको आगो’ कथामा आधारित भएर बन्न लागेको फिल्ममा कलाकारको ‘लाइनअप’ रोचक बनिरहेको छ । यसमा अभिनेत्री सुहाना थापा मुख्य भूमिकामा निश्चित भइसकेकी छन् । धेरैलाई उनको जोडीको रुपमा को देखिएला भन्ने चासो बढेको थियो । अब उनको जोडीको पनि लगभग टुंगो लागेको छ ।
निकट स्रोतले फिल्मीखबरलाई दिएको जानकारी अनुसार फिल्ममा सुहानाको जोडी अभिनेता खगेन्द्र लामिछानेसँग बाँधिने भएको छ । खगेन्द्रसँग निर्माताको मौखिक सहमति भइसकेको छ । यतिबेला उनी भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा चलिरहेको महाकुम्भ मेलामा सहभागी हुन गएकाले त्यहाँबाट फर्किएपछि कागजी सम्झौताको तयारी गरिएको छ ।
‘परालको आगो’ श्रीमान्-श्रीमती चामे र गौँथलीको कथा हो । यसमा दुई पात्रको झैँझगडालाई परालको आगोको संज्ञा दिइएको छ । परालको आगोझैँ श्रीमान्-श्रीमतीको झगडा पनि क्षणिक र अस्थायी हुन्छ भन्ने कथाको मूल भाव हो । फिल्ममा सुहाना गौँथली र खगेन्द्र चामेको भूमिकामा प्रस्तुत हुनेछन् । अर्थात् श्रीमान्-श्रीमती बनेर अभिनय गर्नेछन् ।
लक्ष्मण सुनारको निर्देशनमा बन्न लागेको फिल्ममा सुशील पोखरेलको लगानी रहनेछ । आगामी दशैंमा रिलिजको तयारी गरिएको फिल्ममा सुशील देवकोटाको लेखन छ । करिब ४५ वर्षअघि ‘परालको आगो’ कथामा निर्देशक प्रताप सुब्बाले पनि फिल्म निर्माण गरेका थिए । यसपटक भने लोकेसन, प्रस्तुतिकरण तथा पटकथालाई फरक किसिमले प्रस्तुत गरिने निर्माता पोखरेलको भनाइ छ ।