अन्ततः फिल्म ‘एक्टर : टेक वान’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । अर्को ‘एक्टर’का निर्माताले काठमाडौं जिल्ला अदालतमा हालेको मुद्धा शुक्रबार फिर्ता लिएसँगै फिल्म प्रदर्शनमा आएको हो । मुद्धा फिर्ता भएको जानकारी अदालतले एक पत्रमार्फत् नेपाल चलचित्र संघलाई पनि गराएको छ । उक्त पत्रसँगै बिहान १० बजेपछि देशभरका हलहरुले फिल्म देखाउन सुरु गरिसकेका छन् ।
मुद्धा फिर्ता नभएसम्म फिल्म नचलाउने अडान हल सञ्चालकहरुले राखेका थिए । जसले गर्दा शुक्रबार बिहान १० बजेसम्म फिल्म चल्न सकेन । अब मुद्धा फिर्ता भएकाले फिल्म चलाउन कुनै रोकावट छैन । फिल्मले देशभरका हलमा राम्रो शो पाएको छ । अब प्राप्त शोलाई अकुपेन्सीमा बदल्नुपर्ने चुनौती फिल्मलाई रहनेछ ।
गत मंगलबार काठमाडौं जिल्ला अदालतले ‘एक्टर’ निर्माण कम्पनी नेपाली डायस्पोरा इन्टरटेन्मेन्टले दायर गरेको रिट निवेदनको आधारमा ‘एक्टर : टेक वान’को प्रदर्शन रोक्न अन्तरिम आदेश जारी गरेको थियो । जसले गर्दा बुधबारबाट फिल्म प्रदर्शनमा आउन सकेन । बिहीबार दुवै फिल्मका निर्माताबीच वार्ता भएपछि नामलाई लिएर उत्पन्न विवाद टुंगिएको थियो ।
राजन भुसालको निर्देशनमा तयार भएको ‘एक्टर : टेक वान’मा प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, निश्चल बस्नेत लगायतको अभिनय छ । थमन कुमार भण्डारी निर्माता रहेको फिल्मको सोमबार भएको प्रिमियरमा उत्साहजनक प्रतिक्रिया मिलेको थियो । ठूलो चर्चा र नाम चलेका कलाकारहरु भएकाले फिल्मले सुखद् व्यापार गर्न सक्ने प्रक्षेपण गरिएको छ ।