आगामी नयाँ वर्षलाई लक्षित गरेर चैत २९ गते तीनवटा फिल्म प्रदर्शनमा आउने तयारीमा छन् । ती फिल्महरु हुन्, ‘कर्मा’, ‘नरसिंहा अवतार’ र ‘पिताम्बर’ । रोचक कुरा के छ भने यी तीनवटै फिल्म एक्सन प्रधान हुन् । एउटै मितिमा एउटै जनराका तीनवटा फिल्म आउनु व्यापारिक हिसाबले जोखिमपूर्ण मानिन्छ । तर, तीनवटै फिल्मका निर्माताहरु घोषित मितिबाट पछाडि हट्ने पक्षमा छैनन् ।
तीन फिल्ममध्ये ‘पिताम्बर’को छायांकन पूरा भएर टिजर पनि आइसकेको छ । ‘नरसिंहा’को केही प्रतिशत छायांकन मात्र बाँकी छ । ‘कर्मा’को भने भर्खर पहिलो चरणको छायांकन सकिएको छ । यसैले यही फिल्म सर्न सक्ने सम्भावनाबारे चर्चा भइरहेको छ । तर, निर्देशक सौरभ चौधरीले फिल्म चैत २९ गतेबाट नै प्रदर्शनमा आउने दाबी गरेका छन् ।
उनले भने, ‘गलत हल्लामा नलाग्न दर्शकलाई अनुरोध गर्दछौं । काम तीव्र गतिमा अगाडि बढिरहेको छ र हामी निर्धारित मितिमा नै फिल्म रिलिज गर्नेछौं ।’ उनका अनुसार दाङको विभिन्न क्षेत्रमा ४६ दिन लगाएर फिल्मको पहिलो चरणको छायांकन सकिएको छ भने अब दुई सातामा सम्पूर्ण छायांकन पूरा हुनेछ । फिल्मको दोस्रो चरणको छायांकन भने काठमाडौंमा गरिनेछ ।
‘कर्मा’को छायांकन चरणमै सम्पादन र भिएफएक्सको काम समेत भइरहेको छ । चौधरीले भने, ‘हामीले दिनरात नभनी अत्यन्तै मेहनतका साथ काम गरिरहेका छौँ । अबको दुई सातामा छायांकन पूरा हुनेछ, त्यसपछि पोस्ट-प्रोडक्सनको कामलाई तीव्रता दिनेछौँ । अहिलेसम्म कुनै बाधा-अड्चन बिना छायांकन सम्पन्न भइरहेको छ ।’
यो फिल्ममा विपिन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्य देव मुख्य भूमिकामा छन् । विपिन र उपासनाको यो पहिलो सहकार्य हो । यसमा विपिन पहिलो पटक एक्सन अवतारमा देखिँदैछन् । मुकुन भने भिलेनको भूमिकामा छन् । उनले पहिलोपटक नकारात्मक भूमिकामा काम गरेका हुन् । बसन्त लम्सालको लगानी रहेको फिल्मको स्क्रिप्ट निर्देशक चौधरी स्वयंले लेखेका हुन् ।