अभिनेता सलोन बस्नेतको निर्माण तथा मुख्य भूमिका रहेको फिल्म ‘रंगी’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक तीन मिनेट लामो ट्रेलरले बाबु-छोरीको भावनात्मक सम्बन्धको कथालाई पेस गरेको छ । छोरीका लागि एकल बाबुले गरेको दुःख, मिहिनेत, त्याग र समर्पणलाई फिल्मले मुख्य कथावस्तु बनाएको सार्वजनिक ट्रेलरबाट प्रष्ट हुन्छ ।
सलोन बाबुको भूमिकामा छन् । छोरीका लागि देखेको सपना पूरा गर्न उनी ‘फूड डेलिभरी ब्वाई’ बनेका छन् । उनको छोरीको भूमिकामा बाल कलाकार आयुषी ढकाल छिन् । ट्रेलरको अन्त्यमा उनले स्टेजबाट आफ्नो बाबुप्रति दर्शाएको प्रेमपूर्ण संवाद मर्मस्पर्शी छ । आयुषीलाई सिटी स्क्यान मेसिनमा राखेको एउटा दृश्यले उनी गम्भीर रोगसँग जुधिरहेको बुझ्न सकिन्छ ।
आगामी फागुन २ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्ममा सलोन र आयुषीसहित दीलिप रायमाझी, नम्रता श्रेष्ठ, उत्तम केसी, सुमिन गुरुङ, विशाल पहारी, सुशान्त काजी श्रेष्ठ, साहिल खान, जयन्ती रायमाझी, आइस्मा केसी लगायतको अभिनय छ । पूर्व मिस नेपाल समेत रहेकी नम्रताको यो डेब्यु फिल्म हो । ट्रेलरमा उनले पनि स्थान पाएकी छन् ।
थुप्रै फिल्ममा सहायक निर्देशकको रुपमा काम गरेका सुरेश न्यौपानेको डेब्यु निर्देशनमा तयार भएको फिल्मको निर्मातामा सक्षम सुवेदी, करिश्मा केसी र अनिश गौतम छन् । यसमा सुमन गजमेरको लेखन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, सौरभ लामाको छायांकन, बन्दे प्रसादको सम्पादन, रोमन बज्रचार्यको ब्याकग्राउन्ड स्कोर र मुकेश शाहको साउन्ड डिजाइन छ ।