डेढ दशकदेखि नाटक, गाईजात्रा प्रहसन र हास्य टेलिसिरियलमा काम गर्दै आइरहेका कलाकार कृष्णप्रसाद धिताल अब फिल्ममा देखा पर्दैछन् । त्यो फिल्म हो, ‘जुनाः एक व्यथा’ । यही माघ २५ गतेबाट प्रदर्शन हुन लागेको फिल्ममा उनले कलाकार अस्मिता ढकालको श्रीमान् बिर्खलालको भूमिका निभाएका छन् । फिल्मको ट्रेलर हेर्दा उनको पात्र सन्की र घमण्डी स्वभावको देखिन्छ ।
कृष्णले ‘जुना’मा काम गर्ने अवसर पाउनुको कथा रोचक छ । उनले यो फिल्म सडकमा पाएका थिए । उनी सम्झन्छन्, ‘रत्नपार्कमा परिवार नियोजनसम्बन्धी एउटा नाटक देखाइरहँदा निर्देशक जीवन सेन्चुरीले त्यो नाटक हेरिरहनुभएको रहेछ । उहाँले मेरो काम मनपराउनु भएछ । फिल्मका लागि चाहिने पात्र अनुसार म फिट देखिएछु । त्यही कारण फिल्मको प्रस्ताव गर्नुभयो ।’
आफ्नो नाटक समूह आवाज आर्ट क्रिएसनमार्फत नेपालका थुप्रै गाउँमा पुगेर नाटक प्रहसन गरेका कृष्णले प्रायः नाटकमा बाल विवाह, अनमेल विवाह, महिला हिंसाका मुद्धा उठाएका थिए । ‘जुना’को विषयवस्तु पनि यहीसँग सम्बन्धित भएकाले उनलाई काम गर्न त्यति असहज भएन । यद्यपि, नाटक र फिल्ममा काम गर्ने शैली फरक हुने उनको अनुभव छ ।
नाटकसँगै केही टेलिभिजन सिरियलमा समेत काम गरेका कृष्ण भन्छन्, ‘सिरियलमा क्यामरा फेस सामान्य तरिकाले गरिएको थियो । तर, फिल्ममा फरक हुने रहेछ । फिल्मको प्राविधिक पक्षबारे मलाई धेरै थाहा थिएन । नाटकमा हामी एक हिसाबले स्वतन्त्रता हुन्थ्यौं तर फिल्ममा सीमित घेराभित्र बसेर काम गर्नुपर्दो रहेछ । मेरो बुझाइमा फिल्म भनेको निर्देशक हो र नाटक कलाकार हो ।’
कृष्णले फिल्मको पात्रको तयारीका लागि कसैलाई भेटेनन् । बरु त्यो पात्रलाई ‘भिजुलाइज’ गर्दै लुक्सदेखि बोल्ने, हिँड्ने हरेक शैली दिमागमा उतारे । यो अभ्यास उनले नाटकमा गरिसकेका थिए । ‘म प्रायः नाटकमा त्यही पात्रमा अभिनय गर्थें । त्यसकारण पनि ममा अभ्यास राम्रै थियो । सुटिङअघिको वर्कसपले पनि थप मजबुत बनायो’, उनी भन्छन् ।
कृष्णलाई नाटकको अभिनयले फिल्ममा चरित्र निभाउन निकै सजिलो भएको रहेछ । ‘गाउँ-गाउँमा नाटक गर्न जाँदा त्यस्ता पात्र मैले समाजमा देखेको थिएँ । नाटक हेर्न आउनेले त्यस्ता घटना सुनाउथे, कति पीडित पनि भेट्न आउँथे । नाटक देखाइसकेपछि दर्शकहरु आफ्नो कथा सुनाउन आउँथे । जसले गर्दा पनि मलाई फिल्ममा चरित्र स्थापित गर्न सजिलो भयो’, कृष्ण भन्छन् ।
फिल्मको सुटिङ हुँदा कृष्ण ८५ किलोका रहेछन् । अनुहारमा हल्का दाह्री पनि थियो । फिल्मको छायांकन पूरा भएपछि उनी ५२ किलोका भए । अहिले ६४ किलोका छन् । ‘त्यो बेलाको लुक्स र अहिलेको लुक्स एकदमै फरक देखिन्छ । त्यसकारण पनि धेरै मान्छेले त्यो पात्र मैँ हुँ भन्दा पत्याउँदैनन्,’ कृष्ण हाँस्छन् ।
उनी ‘जुना’को कथा प्रभावशाली रहेको बताउँछन् । यसैले फिल्मले ‘बोल्ड’ किसिमले सन्देश प्रवाह गर्नेमा उनी विश्वस्त छन् । ‘हामी वर्षौंदेखि सामाजिक विषयमा नाटक गरिरहेका थियौं । समाज सुधारका लागि नाटकलाई माध्यम बनाइरहेका थियौं । अब फिल्मले अझ बोल्ड किसिमले समाजमा सन्देश प्रवाह गर्न सक्छ भन्ने विश्वास छ,’ उनले भने ।
जीवन सेन्चुरीको निर्देशन तथा दीपकप्रसाद घिमिरेको निर्माण रहेको फिल्ममा कृष्णका साथै अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, कमल बोहोरा, अस्मिता बस्नेत लगायतको अभिनय छ । बाल विवाह र महिला हिंसाविरुद्धको कथामा बनेको फिल्ममा राजबहादुर सानेको कथा लेखन, बीबी अनुरागी र रमेश सेञ्चुरीको संगीत तथा रामेश्वर हुमागाईंको डीओपी छ ।