नामलाई लिएर उत्पन्न विवाद सल्टिएसँगै शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘एक्टर : टेक वान’ले पहिलो दिन अपेक्षित व्यापार गर्न सकेन । दर्शकमा फिल्मको रिलिजलाई लिएर अन्योलता रहेकाले पनि व्यापार प्रभावित बन्न पुग्यो । तर, शनिबार बिहानैदेखि फिल्मले काठमाडौंसहित देशभरका हलमा राम्रो अकुपेन्सी हासिल गरेको छ । र, दर्शकबाट उत्साहजनक प्रतिक्रिया मिलेको छ ।
शनिबार फिल्मका मुख्य अभिनेताहरू प्रदीप खड्का, राजबल्लभ कोइराला तथा अभिनेत्री दिव्या रायमाझी काठमाडौंका विभिन्न हलहरूमा दर्शक भेट्न पुगिरहेका छन् । उनीहरु ललितपुरस्थित क्युएफएक्स हलमा पुग्दा दर्शकहरुले हुटिङ गर्दै प्रेम दर्शाए । ‘एक्टर : टेक टू’को माग समेत गरे । त्यहाँ उनीहरुसँग तस्वीर खिच्न दर्शकहरुबीच हानाथाप चलेको थियो ।
फिल्म हेरेका दर्शकहरुले अप्रत्याशित क्लाइमेक्सको प्रशंसा गरेका छन् । प्रदीपको अभिनय, राजबल्लभको पुनरागमन र दिव्याको डेब्यु अभिनयको तारिफ भएको छ । अभिनेत्री आना शर्मा र निर्देशक राजन भुसालको काम पनि निकै रुचाइएको छ । दर्शकीय प्रतिक्रिया मात्र नभइ फिल्मलाई समीक्षा पनि राम्रो मिलेको छ । ‘हेर्नलायक सस्पेन्स-थ्रिलर’ भन्दै समीक्षा आइरहेका छन् ।
थमन कुमार भण्डारीको निर्माण रहेको फिल्ममा दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौलालगायतको अभिनय छ । फिल्मको स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन् । यस अधृत फिल्म्स् र अ मोती फिल्मको प्रस्तुति रहेको फिल्मले आफ्नो पहिचान बनाउन एक पात्रले गर्ने संघर्षको कथा भन्छ । फिल्मको पोस्ट-क्रेडिटमार्फत् ‘पार्ट टू’ समेत घोषणा गरिएको छ ।