यतिबेला चर्चित गायिका एलिना चौहानले श्रीमानसँग डिभोर्सका लागि अदालतमा मुद्धा दायर गरेको विषय चर्चामा रहँदा अभिनेत्री अरुणिमा लम्सालको पनि घरबार बिग्रिएको खबरले फिल्मवृत गर्माएको छ । यसको मुख्य कारण हो, उनले श्रीमान् र विवाहका सम्पूर्ण तस्वीर सामाजिक सञ्जालबाट हटाउनु । गत भदौ ३ गते सुनसरी निवासी युवराज श्रेष्ठसँग उनले लगनगाँठो कसेकी थिइन् ।
उनले विवाहपछि फेसबुक र इन्स्टाग्राममा श्रीमानसँगका तस्वीरहरु पोस्ट गरेकी थिइन् । अहिले ती कुनै तस्वीर उनको सामाजिक सञ्जालमा भेटिँदैन । गत तीजमा सिन्दूर र पोते लगाएर खिचेको तस्वीर समेत उनले हटाएकी छन् । न त युवराजलाई इन्स्टाग्राममा फलो गरेकी छन् । यसबाट पनि अरुणिमाको वैवाहिक सम्बन्ध बिग्रिएको प्रष्ट बुझ्न सकिन्छ ।
युवराजले भने विवाहको तस्वीर फेसबुक र इन्स्टाग्रामबाट हटाएका छैनन् । दुवैतिर उनको प्रोफाइलमा अरुणिमासँगको विवाहको तस्वीर देख्न सकिन्छ । गत भदौमा उनीहरुले सुनसरी जिल्ला अदालतमा कोर्ट म्यारिज गरेर काठमाडौंको बत्तीसपुतलीस्थित राम मन्दिरमा हिन्दू परम्पराअनुसार विवाह गरेका थिए । यसपछि उनीहरुले एक टिभीमा अन्तर्वार्ता समेत दिए ।
विवाहको साता दिनपछि अरुणिमा अमेरिका उडेकी थिइन् । उनी कागजपत्र मिलाएर श्रीमानलाई अमेरिका तान्ने तयारीमा थिइन् । तर, अब सम्बन्ध नै बिग्रिएको चर्चा छ । बुझिएअनुसार अरुणिमाले अमेरिकाबाटै डिभोर्स फाइल गरिसकेकी छन् । युवराजसँग दोस्रो विवाह गरेकी उनको पहिलो श्रीमान् अमित अर्यालसँग २०७४ सालमा डिभोर्स भएको थियो । उनको एक छोरी छिन् ।
कुनै समय नेपाली फिल्ममा अरुणिमाको राम्रो करिअर थियो । आफ्नो सक्रिय करिअरमा ‘धड्कन, ‘अग्नी ज्वाला’, ‘सन्तान’, ‘जीवन रेखा’, ‘भरोसा’, ‘अभिमन्यू’, ‘इन्द्रेणी’, ‘के यो माया हो’ जस्ता ५० बढी फिल्ममा काम गरेकी उनी एक दशकदेखि अमेरिकामा बस्दै आइरहेकी छन् । १० वर्षपछि उनले अमेरिकामै बनेको वेब सिरिज ‘घर बट इन अमेरिका’बाट अभिनयमा कमब्याक गरेकी छन् ।