प्रायः फिल्मका गीतहरु प्रदर्शन अगावै सार्वजनिक भइसकेका हुन्छन् । त्यसले फिल्मको प्रचारमा सघाउ पुग्ने विश्वास मेकरहरुमा छ । तर, केही फिल्मको भने कथा खुल्ने डरले प्रदर्शनपछि मात्र गीत सार्वजनिक गरिन्छ । यही सिलसिलालाई पछ्याउँदै शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘एक्टर : टेक वन’को तेस्रो दिन आइतबार नयाँ गीत ‘जिन्दगी रेल’ युट्युबमार्फत सार्वजनिक गरिएको छ ।
गीतमा आशुतोष उप्रेतीको गायन, किरण थापा मगर र आशुतोष उप्रेतीको शब्द तथा रोहित शाक्यको संगीत छ । किरण थापाको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मको स्टार बन्ने उद्देश्य लिएको एक पात्रको सफलता र प्रेम जीवनलाई देखाइएको छ । अभिनेता प्रदीप खड्काले फिल्म साइन गरेपछि विलासी जीवन बाँचेको देख्न सकिन्छ ।
कानुनी अवरोधका कारण घोषित मितिबाट दुई दिनपछि रिलिज भएको फिल्मले शुक्रबार अपेक्षित व्यापार गर्न सकेन । शनिबार भने फिल्मको व्यापार देशभर सुखद रह्यो । तर, आइतबारबाट व्यापारमा केही गिरावट आएको छ । यद्यपि, ‘वर्ड अफ माउथ’को मद्दतमा फिल्मले गति लिनेमा निर्माता आशावादी छन् । फिल्मलाई दर्शकबाट प्रतिक्रिया सकारात्मक मिलेको छ ।
राजन भुसालको निर्देशनमा तयार भएको फिल्ममा प्रदीपसहित आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, दिव्यदेव पन्त, सृजना अधिकारी, उषा रजक, सुशील सिटौला लगायतको अभिनय छ । आकाश बराल र राजन भुसालको संयुक्त लेखन रहेको फिल्मलाई थमन कुमार भण्डारीले निर्माण गरेका हुन् । फिल्मले आफ्नो पहिचान बनाउन एक पात्रले गरेको संघर्षको कथा भन्छ ।