यस वर्षको व्यावसायिक रुपमा सफल फिल्म ‘घरज्वाइँ’को निर्माण समूहले नयाँ फिल्मको घोषणा गरेको छ । सोमबार सरस्वती पूजा (वसन्त पञ्चमी)को अवसर पारेर थिम पोस्टरमार्फत् ‘मितज्यू’ शीर्षकमा फिल्म निर्माण हुने जानकारी गराइयो । फिल्मलाई जनक घर्ती मगरले निर्माण र अनिल बुढा मगरले निर्देशन गर्नेछन् ।
पेन्टिङमार्फत् तयार पारिएको थिम पोस्टरमा दुई पात्रलाई सामान बोक्ने भ्यानको अगाडिको भागमा पञ्जा जुधाइ खेलिरहेको देख्न सकिन्छ । भ्यानको छतमा खसी, कुखुरा, डोको, बियरको बोत्तल जस्ता चिज छन् । पृष्ठभूमिमा पहाडी भूगोल देखिन्छ । फिल्मले ग्रामीण परिवेशमा आधारित भएर आदिवासी जनजाति समुदायमा प्रचलित मितेरी साइनोको कथा भन्ने पोस्टरबाट बुझ्न सकिन्छ ।
अर्को वर्ष छायांकनको तयारी गरिएको फिल्ममा कलाकारहरु भने निश्चित भएका छैनन् । महेश राईको लेखन रहेको फिल्मको प्रोडक्सन कन्ट्रोलरमा धन बहादुर राई छन् । पेन्टिङ पोस्टर पुष्प आले मगरले तयार पारेका हुन् ।
फिल्मको निर्माण घोषणासँगै प्रदर्शन मिति पनि तय गरिएको छ । पोस्टरमा उल्लेख भएअनुसार आगामी वर्ष (२०८२)को चैत २७ गतेबाट फिल्म प्रदर्शनमा आउनेछ । फिल्म निर्माणमा जिएम मूभिज प्रोडक्सनले एबीएम सिने प्रोडक्सनसँग सहकार्य गरेको छ ।