दीपेन्द्र के खनालको निर्देशनमा बन्न लागेको फिल्म ‘हरिबहादुरको जुत्ता’को मुहूर्त गर्दै छायांकन सुरु गरिएको छ । सोमबार वसन्त पञ्चमीको अवसर पारेर भक्तपुरको सुर्यविनायक मन्दिरमा मुहूर्त पूजापछि काभ्रेको पनौती नगरपालिकामा पर्ने शंखुबाट छायांकन सुरु गरिएको निर्देशक खनालले जानकारी दिए । ४५ दिनको सेड्युलमा फिल्मलाई काभ्रेपछि काठमाडौं उपत्यकामा खिचिनेछ ।
हरिवंश आचार्यको लेखन रहेको फिल्ममा उनी स्वयं मुख्य भूमिकामा देखिनेछन् । उनीसँगै प्रकाश सपूत, प्रियंका कार्की, स्वस्तिमा खड्का, किरण केसी, मुरलीधर लगायतको पनि अभिनय रहनेछ । प्रकाश यतिबेला पूर्वमा फिल्म ‘सोल्टिनी’को छायांकनमा व्यस्त भएकाले उनले केही दिनपछि ‘हरिबहादुरको जुत्ता’को सेट ज्वाइन गर्ने जनाइएको छ ।
मुहूर्त समारोहमा कलाकार आचार्यले फिल्म बनाउन सजिलो नरहेको अनुभव सुनाए । फिल्म र देश बनाउनु एउटै रहेको उनको भनाइ छ । उनले भने, ‘देश र फिल्म बनाउँदा बिग्रियो भने खत्तम हुन्छ । यसैले फिल्म बनाउने बेला धेरै तनाव हुन्छ । र, फिल्म बनाउनलाई टिम एकदमै बलियो चाहिन्छ । बलियो टिममा फेरि पैसा पनि बलियो चाहिन्छ । अचेल फिल्म बनाउन धेरै खर्च हुन्छ ।’
निर्देशक खनालले अघिल्ला फिल्ममा सिकेको कुरा यसमा लगाउनु बताए । ‘म फिल्मलाई लिएर उत्साहित छु । मैले आजसम्म धेरै फिल्म निर्देशन गरेँ । त्यो सबैबाट सिकेको, जानेको र बुझेको कुरा यसमा राख्ने कोसिस गर्नेछु,’ उनले भने । दीपेन्द्रले प्रियंका र स्वस्तिमासँग यसअघि काम गरिसकेका छन् । हरिवंश र प्रकाशसँग भने उनको यो पहिलो सहकार्य हो ।
सरोज ओली र मोहितवंश आचार्यले निर्माण रहने फिल्म एसएम मोसन पिक्चर्सको ब्यानरमा बन्नेछ । प्राप्त जानकारी अनुसार दुई दशकअघिको चर्चित सिरियल ‘मदनबहादुर-हरिबहादुर’मा हरिवंश आचार्यले निर्वाह गरेको हरिबहादुरको चरित्रबाट प्रभावित भएर फिल्म बन्न लागेको हो । यसमा उनले हरिबहादुरकै भूमिका निभाउनेछन् । उनको जोडीको रुपमा प्रियंका देखिने स्रोत बताउँछ ।