मिति : २०८१ माघ २२, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फेरि बन्दै ‘मनको बाँध’, युवराज कार्कीले निर्देशन गर्ने

फिल्मीखबर, काठमाडौं, 2025/02/03

MANKO BAANDH ANNOUNCEMENT

 

नेपाली फिल्मको इतिहासमा एउटा महत्त्वपूर्ण फिल्म मानिन्छ, ‘मनको बाँध’ । २०३० सालमा प्रदर्शन भएको यो फिल्म शाही नेपाल चलचित्र संस्थानले स्थापनाको २ वर्षपछि निर्माण गरेको थियो । यो राज्यबाट मनोरञ्जन कर छुट पाउने पहिलो नेपाली फिल्म हो । अब यही नाममा ५ दशकपछि अर्को फिल्म बन्ने भएको छ । सोमबार थिम पोस्टरमार्फत् ‘मनको बाँध’को निर्माण घोषणा गरियो ।

फिल्मको निर्देशन युवराज कार्कीले गर्नेछन् । उनी प्रोडक्सन डिजाइनरको रुपमा परिचित छन् । यही फिल्मबाट उनले निर्देशनमा डेब्यु गर्न लागेका हुन् । फिल्मको निर्माणमा श्रीत फिल्म्स एन्ड इन्टरटेनमेन्ट तथा नटराज क्रियसनले सहकार्य गरेका छन् । अहिलेसम्म कलाकार तथा प्राविधिकहरूको नाम खुलाइएको छैन ।

‘मनको बाँध’ ग्रामीण जीवनका सङ्घर्ष, आर्थिक असमानता, वैवाहिक असमानता, सामाजिक अन्याय र हिंसाका विषयमा आधारित हुने जनाइएको छ । फिल्मले महिलाको साहस, धैर्यता र आत्मविश्वासको कथालाई प्रभावशाली रुपमा चित्रण गर्ने निर्देशक कार्कीले बताए । फिल्मको छायांकन यसै वर्ष गरेर आगामी वर्ष रिलिज गर्ने लक्ष्य राखिएको छ ।

नेपाल चलचित्र प्राविधिक सङ्घका महासचिव समेत रहेका युवराज अनुभवी प्रोडक्सन डिजाइनरका रूपमा परिचित छन् । ‘जात्रा’, ‘शत्रु गते’, ‘दाल भात तरकारी’ र ‘द सिक्रेट अफ राधा’ जस्ता फिल्ममा प्रोडक्सन डिजाइनको जिम्मेवारी सम्हालेका उनी दुई वर्ष अगाडि रिलिज भएको फिल्म ‘के घर के डेरा’मा कार्यकारी निर्माताको भूमिकामा थिए, जसको सिक्वेल हाल पोस्ट-प्रोडक्सनमा छ ।