बाल विवाह र महिला हिंसाविरुद्धको कथामा बनेको फिल्म ‘जुना : एक व्यथा’को रत्यौली गीत ‘साली ज्यू’ सार्वजनिक गरिएको छ । गीतमा पूर्णकला बिसीको स्वर, भीमबहादुर पौडेलको शब्द रचना तथा बीबी अनुरागीको संगीत रहेको छ ।
सार्वजनिक गीतको भिडियोमा बिनु कार्की, अस्मिता बस्नेत र नेहा गौतमको नृत्य देख्न सकिन्छ । विवाहको दिन बेहुला जन्ती लिएर बेहुलीको घरमा हिँडिसकेपछि त्यस राति महिलाहरुले नाच्ने रत्यौलीलाई प्रस्तुत गरिएको गीतमा भिनाजु र साली बनेर दुई युवतीले नृत्य गरेका छन् । भिनाजु बनेकी युवती केटाको गेटअपमा छिन् ।
गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्चको व्यानरमा निर्माण भएको फिल्मलाई जीवन सेञ्चुरीले निर्देशन गरेका हुन् । निर्मातामा दीपकप्रसाद घिमिरेले छन् । यही माघ २५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, अनिता बस्नेत, कमल बोहोरा र खगेन्द्र न्यौपानेको अभिनय छ ।
फिल्ममा राजबहादुर सानेको कथा, बीबी अनुरागी र रमेश सेञ्चुरीको संगीत, जीवन सेञ्चुरी र भीमबहादुर पौडेलको शब्द, अञ्जु पन्त, पूर्णकला बिसी र यदु राई लकान्द्रीको स्वर र रामेश्वर हुमागाईंको डिओपी छ । फिल्मको यसअघि थुप्रैपटक च्यारिटी शो भइसकेको छ । केही ठाउँमा फिल्म हेरेर दर्शक बेहोस समेत भएका थिए । यसैले फिल्मप्रति दर्शकमा अपेक्षा उच्च देखिएको छ ।