सम्पादन र निर्देशन दुवै विधामा आफूलाई स्थापित गरेका सुरेन्द्र पौडेल अब चौथो फिल्मको रुपमा ‘वरिष्ठ बलराम’ निर्देशन गर्ने तयारीमा छन् । यसको घोषणा करिब एक वर्षअघि नै भएको थियो । तर, कलाकार, निर्माता र लेखक फेरबदलका कारण निर्माण अन्योल बनेको थियो । अब भने आगामी फागुन पहिलो साताबाट फिल्मको छायांकन सुरु हुने निर्देशक पौडेलले जानकारी दिए ।
‘पूर्णबहादुरको सारङ्गी’का लेखक महेश दवाडीको पटकथा लेखन रहेको फिल्ममा ‘कबड्डी’ जोडी दयाहाङ राई र विजय बराल मुख्य भूमिकामा रहनेछन् । पहिला अर्कै एक निर्माताले यो फिल्म बनाउने तयारी गर्दा विजय थिएनन् । उनको ठाउँमा खगेन्द्र लामिछाने थिए भने मुख्य अभिनेत्रीमा दिव्या रायमाझी निश्चित थिइन् । अब फिल्ममा खगेन्द्र र दिव्या दुवै छैनन् ।
सामाजिक कथावस्तुमा बन्न लागेको फिल्ममा दयाहाङ र विजयबाहेक अरु कलाकार निश्चित नभएको निर्देशक पौडेलले बताए । उनका अनुसार केही दिनमा टिजरमार्फत फिल्मका बाँकी कलाकारको बारेमा जानकारी गराइनेछ । तराईका विभिन्न ठाउँमा छायांकन हुन लागेको फिल्मलाई २०८२ सालमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।
तीन दर्जन बढी नेपाली फिल्मको सम्पादन गरिसकेका सुरेन्द्रले सन् २०१५ मा रिलिज भएको फिल्म ‘आभास’बाट निर्देशनमा डेब्यु गरेका थिए । यसपछि अनमोल केसीलाई एक्सन अवतारमा प्रस्तुत गर्दै ‘कृ’ बनाएका उनको पछिल्लो निर्देशित फिल्म ‘बाबरी’ हो । अघिल्ला तीन फिल्मभन्दा ‘वरिष्ठ बलराम’ उत्कृष्ट बनाउने उनको अठोट छ । फिल्मको निर्माण वृषभ सिद्धी इन्टरटेनमेन्टले गर्नेछ ।