आगामी फागुन २ गते (भ्यालेनटाइन डे)बाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘रंगी’को अघिल्लो साता सार्वजनिक ट्रेलरमा एउटा दृश्य छ, जसमा अभिनेता सलोन बस्नेतले एक युवतीसँग विवाह गरेको देख्न सकिन्छ । तर, ती युवती को हुन् भन्ने खुलाइएको थिएन । मंगलबार सार्वजनिक शीर्ष गीतले त्यो रहस्य खुलाएको छ । ती युवती अरु कोही नभएर अभिनेत्री मलिका महत हुन् ।
आमेश भण्डारी र समीक्षा अधिकारीको स्वर तथा आमेश स्वयंको शब्द र संगीत रहेको गीतको भिडियोमा मलिका र सलोनबीचको प्रेम देखाइएको छ । चिया बेचेर जीविकोपार्जन गर्ने मलिकासँग सलोनको भेटपछि अंकुराएको प्रेम र त्यसपछि विवाह हुँदै मलिका गर्भवती भएको दृश्यसम्म भिडियोमा देख्न सकिन्छ । यसले फिल्ममा मलिकाको भूमिका महत्त्वपूर्ण रहेको बुझाउँछ ।
थुप्रै फिल्ममा सहायक निर्देशकको रुपमा काम गरेका सुरेश न्यौपानेको निर्देशनमा तयार भएको फिल्ममा सलोन र मलिकासहित आयुषी ढकाल, दीलिप रायमाझी, नम्रता श्रेष्ठ, उत्तम केसी, सुमिन गुरुङ, विशाल पहारी, सुशान्त काजी श्रेष्ठ, जयन्ती रायमाझी लगायतको अभिनय छ । पूर्व मिस नेपाल समेत रहेकी नम्रताको यो डेब्यु फिल्म हो ।
सलोन बस्नेत प्रस्तुतकर्ता रहेको फिल्मको निर्मातामा सक्षम सुवेदी, करिश्मा केसी र अनिश गौतम छन् । फिल्ममा सुमन गजमेरको लेखन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, सौरभ लामाको छायांकन, बन्दे प्रसादको सम्पादन, रोमन बज्रचार्यको ब्याकग्राउन्ड स्कोर र मुकेश शाहको साउन्ड डिजाइन छ । फिल्मको यसअघि दुई गीत, टिजर र ट्रेलर रिलिज भइसकेका छन् ।