नेपालको हकमा फिल्मले सेन्सर बोर्डबाट एडल्ट सर्टिफिकेट पाउनु व्यापारिक दृष्टिकोणले राम्रो मानिँदैन । किनकि, एडल्ट फिल्म हेर्ने जमात ठूलो छैन । जसले गर्दा यस्ता फिल्मलाई लगानी उठाउन निकै समस्या हुने गरेको छ । यद्यपि, जोखिम उठाएरै भए पनि मेकरहरूले एडल्ट कन्टेन्टमा फिल्म बनाइरहेका हुन्छन् । यही शुक्रबार प्रदर्शन हुन लागेको फिल्म ‘ममी’ पनि एडल्ट बनेको छ ।
सोमबार फिल्म जाँच गरेपछि केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले एडल्ट सर्टिफिकेट दिएको हो । अब यो फिल्म १६ वर्ष पूरा भएका दर्शकहरुले मात्र हेर्न पाउनेछन् । बुझिए अनुसार हिंसाका दृश्य, हरर एलिमेन्ट्स र यौनजन्य दृश्यका कारण फिल्मले एडल्ट सर्टिफिकेट पाएको हो । यो सर्टिफिकेटले फिल्मको व्यापारमा असर गर्न सक्ने सम्भावना प्रवल देखिन्छ ।
एडल्ट सर्टिफिकेट प्राप्त भए पनि सेन्सरमा फिल्म हेरेका पदाधिकारीबाट राम्रो प्रतिक्रिया मिलेको निर्मात्री पूर्णिमा जोशीले बताइन् । नेपालमा विरलै निर्माण हुने हरर जनरा र त्यसमा पनि समाजमा घट्ने विभिन्न समसामयिक घटनालाई सुक्ष्म रुपमा उठाएको भन्दै कथावस्तुको तारिफ भएको उनको भनाइ छ । फिल्मको लम्बाई २ घण्टा ३ मिनेट छ ।
समर निरौलाको निर्देशनमा तयार भएको फिल्ममा प्रियंका कार्की, सुलक्षण भारती, दीया मास्के, समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ लगायतको अभिनय छ । समर निरौला र पूर्णिमा जोशीको लेखन रहेको फिल्मको निर्माता लोकराज जोशी र पूर्णिमा जोशी हुन् भने कार्यकारी निर्मातामा सुमन कोइराला छन् । निशाल पौडेल र शरद महतोले फिल्म खिचेका हुन् ।