ब्लकबस्टर फिल्म ‘महापुरुष’बाट अभिनेताको रुपमा डेब्यु गरेका अरुण क्षेत्री अब एक्सन फिल्म ‘हन्टर’मा देखिने तयारीमा छन् । बुधबार उनको जन्मदिनको अवसर पारेर क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ । पोस्टरमा अरुण चिउँडोमा हात राखेर तनाव मुद्रामा देखिएका छन् । उनको अनुहारमा चोटको निशान छ । यसले फिल्ममा उनी एक्सन भूमिकामा देखिन लागेको संकेत गर्छ ।
जीवन सिंहको निर्देशनमा बन्न लागेको फिल्मको गत भदौमा श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर निर्माण घोषणा गरिएको थियो । यतिबेला प्रि–प्रोडक्सनमा रहेको फिल्ममा अरुणबाहेक अन्य कलाकारको बारेमा जानकारी गराइएको छैन । तर, निकट स्रोतका अनुसार यसमा अरुणको जोडीको रुपमा अभिनेत्री गरिमा शर्मा देखिनेछिन् ।
क्याच कक इन्टरटेनमेन्टले ट्राइडेन्ट कन्सेप्टसँग निर्माणमा सहकार्य गरेको ‘हन्टर’ सुदूरपश्चिमको कथामा बन्नेछ । निर्देशक सिंहका अनुसार फिल्म वास्तविक पात्रको कथाबाट प्रभावित भएर बन्न लागेको हो । उनी भन्छन्, ‘यो वास्तविक पात्रको कथाबाट प्रभावित छ । तर, हामी ‘सिनेम्याटिक लिवर्टी’ लिएर कथा भन्नेछौँ । वास्तविक पात्रको कथामा ‘फिक्सन’ मिसाइनेछ ।’
ममता सिङ्ग र राज ए भट्ट निर्माता रहेको फिल्ममा मनीष चन्द र गोविन्द राज सह-निर्मातामा छन् । कार्यकारी निर्माता भने रोयल भिमसेन हुन् । उनी पोस्टर डिजाइनरको रुपमा परिचित छन् । फिल्मको छायांकन पश्चिम नेपालमा हुनेछ । अरुण यतिबेला फिल्म ‘पहाड’को छायांकनमा व्यस्त रहेकाले उनले त्यो सकाएपछि ‘हन्टर’को छायांकन सुरु हुनेछ । ‘हन्टर’को अर्थ शिकारी भन्ने हुन्छ ।