मिति : २०८१ माघ २४, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘राजागंज’ टिजरमा मधेश आन्दोलन र बालक अपहरणको कथा

फिल्मीखबर, काठमाडौं, 2025/02/05

Dayahang Rai, Asha Magrati, Bijay Baral, Nikita Chandak

 

दीपक रौनियारको निर्देशनमा बनेको फिल्म ‘राजागंज’ (पूजा, सर)को टिजर सार्वजनिक गरिएको छ । बुधबार सार्वजनिक १ मिनेट २० सेकेण्ड लामो टिजरले अपहरणमा परेका दुई बालकलाई मुक्त गराउन प्रहरीले चालेको खोजी अप्रेसन र मधेशमा चर्किएको आन्दोलनलाई चित्रण गरेको छ । फिल्मले ०६३/०६४ सालमा भएको मधेश आन्दोलनको समयको कथा भन्ने टिजरले संकेत गर्छ ।

टिजरको अन्त्यमा अभिनेत्री आशा मगरातीको एउटा अर्थपूर्ण संवाद छ, ‘किडन्यापरको टार्गेट मधेशी सभासदज्यूलाई हो कि उहाँको श्रीमती पहाडे भएको कारणले हो ? या, बच्चाको रङ चाहिँ गोरो भएर ?’ यसबाट निर्देशक रौनियारले मधेश आन्दोलनको क्रममा रुप, रङ र वर्णको आधारमा भएको विभेद फिल्मको केन्द्रीय द्वन्द्व रहेको प्रष्ट पारेका छन् ।

आगामी चैत १ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा आशासहित दयाहाङ राई, विजय बराल, ऋचा शर्मा, गौमाया गुरुङ, पशुपती राई, निकिता चाण्डक (पूर्वमिस नेपाल), पुष्पा यादव, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, नीरज श्रेष्ठ लगायतको अभिनय छ । फिल्मले भेनिस, ह्याम्बर्ग, बुसान, मुम्बई जस्ता विश्वका प्रतिष्ठित महोत्सवहरु घुमिसकेको छ ।

आदि फिल्मसको तर्फबाट दीपक रौनियार र आशा मगराती, ‘कबड्डी’ निर्माण कम्पनी बाँसुरी फिल्मसको तर्फबाट रामबाबु गुरुङ तथा तन्हाउसर गेटको तर्फबाट एलन आर मिलिगनले फिल्मको निर्माणमा सहकार्य गरेका छन् । नर्वेजियन सिनेमा इन्स्टिच्युटको सोर्फोन्डबाट आर्थिक सहयोग समेत प्राप्त गरेको फिल्मको कार्यकारी निर्मातामा बलिउड निर्देशक अनुराग कश्यप रहेका छन् ।