मिति : २०८१ माघ २४, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सारंग’ ऋचाको ‘दोस्रो इनिङ’

फिल्मीखबर, काठमाडौं, 2025/02/06

reecha sharma

 

भोलि शुक्रबार अर्थात् माघ २५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘सारंग’मा अभिनेत्री ऋचा शर्माले मुख्य भूमिका निभाएकी छन् । अझ भनौं, उनी फिल्मकी सोलो अभिनेत्री हुन् । लामो समयपछि शीर्ष भूमिकामा काम गरेकी उनले यसमा आमाको भूमिका निभाएकी छन् । वास्तविक जीवनमा पनि आमा बनिसकेकी उनले यो फिल्मलाई आफ्नो करिअरको ‘दोस्रो इनिङ’ मानेकी छन् ।

मंगलबार फिल्मको प्रिमियरमा उनले भनिन्, ‘मलाई हरेक फिल्म पहिलो फिल्म जस्तो लाग्छ । ‘सारंग’बाट मेरो डेब्यु भइरहेको छ जस्तो महसुस भइरहेको छ । यो फिल्म चाहिँ मेरो करिअरको दोस्रो इनिङ हो ।’ यो फिल्मबाट आफूले ठूलो पाठ सिकेको उनको भनाइ छ । स-साना कुराले पनि बच्चामा कस्तो प्रभाव पर्छ भन्ने कुरा फिल्मबाट सिकेको उनले बताइन् ।

प्रिमियरमा उपस्थित प्रायःले फिल्मको कथावस्तु र कलाकारहरुको अभिनयको प्रशंसामा शब्द खर्चिएका थिए । निर्देशक दीपाश्री निरौलाले साथ सबैभन्दा महत्त्वपूर्ण हुन्छ भन्ने कुरा फिल्मले देखाएको धारणा व्यक्त गरिन् । उनले भनिन्, ‘विवाहपछि परिवारलाई समय, हेरचाह, बालबच्चालाई माया र शिक्षादीक्षा दिनुपर्छ भन्ने सन्देश फिल्मले दिन्छ । क्लाइमेक्सले चाहिँ मन भारी बनाउँछ ।’

निर्देशक प्रदीप भट्टराईले नेपाली समाजको जल्दोबल्दो समस्यालाई उठाएकोमा निर्देशकको प्रशंसा गरे । ‘यो फिल्मको उठाएको विषय नेपाली समाजको जल्दोजल्दो समस्या हो । लगभग हरेक घर र कोठामा घट्ने घटनालाई फिल्मले देखाएको छ,’ उनले भने, ‘फिल्मले टुक्रिएका परिवारलाई जोड्ने र मिलेका परिवारलाई टुक्रिन नदिने काम गर्छ जस्तो लाग्छ ।’

प्रिमियरमा अभिनेत्री प्रियंका कार्की, अभिनेता दिव्य देव, रंगकर्मी सुलक्षण भारती, निर्माता अर्जुन कुमारलगायत पनि उपस्थित थिए । फिल्मले पारिवारिक कलहले बच्चामा पर्ने मनोवैज्ञानिक असरलाई मुख्य विषय बनाएर मित्रता र सम्बन्धको कथा भनेको छ । दुई बाल कलाकार आदित्य कार्की र सम्राट थापाको वरिपरि फिल्म केन्द्रित छ । र, दुवै अभिनयमा सशक्त देखिएका छन् ।

कोरियोग्राफरको रुपमा परिचित प्रशान्त तामाङको लेखन तथा निर्देशन रहेको फिल्ममा उत्पल झा, सुरज तमु, समीरमणि दीक्षित, मणि के राई लगायतको पनि अभिनय छ । दर्शन बुद्ध फिल्म्सको प्रस्तुतिमा बनेको ‘सारंग’को निर्मातामा प्रेम तामाङ र फूलमाया तामाङ छन् । फिल्ममा शंकर थापा ‘स्माइल’ र नकुल कार्कीको संगीत, गोपाल रायको डिओपी र मित्र डि गुरुङको सम्पादन छ ।