फिल्म ‘ऐश्वर्य’बाट डेब्यु गरेकी दीपिका प्रसाईं ‘छक्का पञ्जा ३’ जस्तो सफल फिल्मको समेत हिस्सा बनिसकेकी छन् । तर, निर्देशक दीवाकर भट्टराईसँग विवाह बन्धनमा बाँधिएपछि केही समय अभिनयमा निस्क्रियजस्तै देखिएकी उनी अब नयाँ फिल्म ‘मायावी’बाट पुनरागमन गर्दैछिन् । यो फिल्मको छायांकन हुँदा उनी गर्भवती थिइन् । यसैले पनि दीपिकाका लागि यो फिल्म एकदमै विशेष छ ।
उनले फिल्मको छायांकन सुरु भएपछि आफू गर्भवती भएको थाहा पाएकी रहेछिन् । त्योबेला उनीसँग सन्तान र फिल्ममध्ये एउटा रोज्नुपर्ने अवस्था थियो । तर, उनले दुवै रोजिन् । भन्छिन्, ‘यो फिल्म ५ वर्षअघिदेखिको हो । जब फिल्म सुरु भयो, तब मैले गर्भवती भएको थाहा पाएँ । त्योबेला म सन्तान कि फिल्म रोज्नुपर्ने अवस्थामा थिएँ । तर, मैले दुवैलाई जिताउनुपर्छ भनेर अगाडि बढेँ ।’
फिल्मको छायांकन भइरहँदा दीपिकाले श्रीमान् समेत रहेका निर्देशक दीवाकरलाई अरु नै अभिनेत्री लिन सुझाव दिएकी रहेछिन् । उनी भन्छिन्, ‘मैले उहाँलाई अब यो फिल्म म गर्न सक्दिनँ समेत भनेको थिएँ । अरु नै नायिका लिन आग्रह गरेको थिएँ । तर, मलाई उहाँले हरेक शब्दमा तिमी छौं, अरुलाई सोच्न सक्दिनँ भन्नुभयो । यसैले मैले यो फिल्म गर्नुपर्यो ।’
‘मायावी’लाई दोस्रो सन्तान मानेकी दीपिका फिल्मलाई ‘प्रेमको पागलपन’को कथाको रुपमा अर्थ्याउँछिन् । फिल्मबारे उनी भन्छिन्, ‘फिल्ममा अनेकौं तरिकाले मायावी देख्न सकिन्छ । ‘मायावी’को अर्थ सामान्य रुपमा मायाजाल हो । तर, यसमा मायावी भनेको आकर्षण हो भनेर देखाइएको छ ।’ उनले अब निरन्तर फिल्म गर्ने पनि बताएकी छन् ।
दीवाकर भट्टराईको निर्देशन तथा लेखन रहेको फिल्ममा दीपिकाको जोडी अभिनेता पल शाहसँग बाँधिएको छ । ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानी रहेको फिल्ममा प्रविण भट्टराई र करण सिंह कार्यकारी निर्माताको रुपमा छन् भने मञ्जु भण्डारी, राजु पराजुली र सुमित वली सह-निर्मातामा छन् । यो फिल्म आगामी फागुन १४ गते अर्थात् महाशिवरात्रिबाट प्रदर्शनमा आउँदैछ ।