बाल विवाह र महिला हिंसाविरुद्धको कथामा बनेको फिल्म ‘जुनाः एक व्यथा’ च्यारिटी शोमा दर्शक बेहोस भएको घटनाले चर्चामा छ । थुप्रैपटक च्यारिटी शो भइसकेको फिल्म हेरेर केही ठाउँमा दर्शक बेहोस भएका थिए । यसपछि फिल्मप्रति दर्शकमा चासो बढेको थियो । अब भोलि शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्मको देशभरका मल्टीप्लेक्सहरुले बुकिङ खुला गरेका छन् ।
फिल्मका लागि नेपालकै सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले शुक्रबार देशभर २४ शो दिएको छ भने वान् सिनेमाजले ४, बिग मुभिजले ३, कीर्तिपुर सिनेप्लेक्स, एफक्यूब र रञ्जना सिनेप्लेक्सले समान २/२, आइएनआईले ७ शो दिएका छन् । देशभरका मल्टीप्लेक्समा गरी फिल्मले ८० शो पाएको जनाइएको छ । केही शोमा बुकिङ राम्रो देखिएको छ ।
जीवन सेञ्चुरीको निर्देशनमा बनेको फिल्ममा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, खगेन्द्र न्यौपाने, कमल बोहोरा, अस्मिता बस्नेत लगायतको अभिनय छ । नेपाली समाजमा सदीयौंदेखि विद्यमान महिला हिंसा, बाल विवाह, अनमेल विवाह, बहुविवाह, छाउपडी, छुवाछूत जस्ता कुप्रथालाई अन्त्य गर्नुपर्ने सन्देश फिल्मले दिने जनाइएको छ ।
दीपकप्रसाद घिमिरेको निर्माण रहेको फिल्ममा राजबहादुर सानेको कथा, बीबी अनुरागी र रमेश सेञ्चुरीको संगीत, जीवन सेञ्चुरी र भीमबहादुर पौडेलको शब्द, अञ्जु पन्त, पूर्णकला बिसी र यदुराई लकान्द्रीको स्वर र रामेश्वर हुमागाईंको डिओपी छ । गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च सेन्टरको ब्यानरमा बनेको फिल्मको ट्रेलरलाई युट्युबमा सकारात्मक प्रतिक्रियाको ओइरो देखिन्छ ।