मिति : २०८१ माघ २५, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘दुःखी आत्मा’बारे दयाहाङ भन्छन्, ‘यौन स्वास्थ्यको कथा भन्नुपर्छ’

फिल्मीखबर, काठमाडौं, 2025/02/07

dayahang rai

 

आगामी फागुन २ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘दुःखी आत्मा’को केही दिनअघि सार्वजनिक ट्रेलरबाट दर्शक ‘सरप्राइज’ नै भए । यसको मुख्य कारण थियो, अभिनेता दयाहाङ राईले निभाएको भूमिका । यसमा उनी यौन दुर्बलताको समस्याबाट पीडित पात्रको भूमिकामा देखिएका छन् । उनको भूमिकालाई लिएर सकारात्मक र नकारात्मक दुवै खालका टिप्पणीहरु भइरहेका छ्न् ।

तर, दयाहाङलाई उक्त भूमिका गरेकोमा कुनै पछुतो छैन । फिल्म गर्दा यो चिजले अप्ठ्यारो वा गाह्रो पार्छ भन्ने पनि उनले सोचेनन् । बरु, उनलाई के लाग्यो भने फिल्ममार्फत यस्तो कथा पनि भन्न आवश्यक छ । उनी भन्छन्, ‘यो कथा भन्नुपर्छ भन्ने लागेर नै मैले फिल्म खेलेको हुँ । यसको कथावस्तु भन्नुपर्ने विषय हो ।’ टिजरमा पूरा संवाद आउँदा भने आफ्नो असहमति रहेको उनले बताए ।

दयाहाङलाई धेरैले किन यस्तो फिल्म खेलेको भनेर समेत सोध्ने गरेका छन् । यसबारेमा उनी भन्छन्, ‘साथीहरुले यस्तो फिल्म किन खेलेको भन्नुहुन्छ । खेल्दा कस्तो लाग्यो भनेर सोध्नुहुन्छ । तर, मलाई कस्तो पनि लागेन भन्छु । यो चिज गर्नुहुन्छ या गर्नुहुँदैन भन्ने व्यक्तिगत सोच हो । मेरो फिल्म पहिले स-परिवार हेर्न जानुहुन्थ्यो । यसपटक छुट्टाछुट्टै भएर जानुपर्छ । त्यो हुँदा सहज पनि हुन्छ ।’

दयाहाङलाई यौन स्वास्थ्यको बारेमा मानिसहरूलाई जानकारी हुनुपर्छ भन्ने लाग्छ । ‘मानसिक स्वास्थ्यको विषयमा हामी बल्लबल्ल खुल्न थालेका छौं,’ उनी भन्छन्, ‘यौन त हाम्रो निजी कुरा हो । यो कुरालाई हामीले अक्सर गोप्य राख्छौं । तर, यो चासोको विषय भने हो । यो विषयमा मानिसहरूलाई जानकारी हुनुपर्छ भन्ने मलाई लाग्छ । छलफल कोसँग गर्ने भन्ने चाहिँ आफ्नो ठाउँमा होला ।’

दीपेन्द्र लामाको लेखन तथा निर्र्देशनमा तयार भएको फिल्ममा दयाहाङसँगै आँचल शर्मा, अनुप विक्रम शाही, बुद्दि तामाङ, रेअर राई, पुष्कर गुरुङ, कविता आले, लोकेन्द्र लेखक, दीया मास्के, आशान्त शर्मा लगायतको अभिनय रहेको छ । हिमाल कडरियाले फिल्मको निर्माण गरेका हुन् । ट्रेलर रिलिजपछि बनेको ‘हाइप’ हेर्दा फिल्मले बक्स अफिसमा राम्रो कमाउन सक्ने छनक देखिन्छ ।