यतिबेला नेपाली फिल्ममा अघिल्लो पुस्ताका अभिनयमा निस्क्रिय कलाकारहरुको कमब्याकको लहर चलेको छ । पूजा चन्द, ऋचा शर्मा, विपना थापा, रेजिना उप्रेती, राजबल्लभ कोइराला जस्ता कलाकारहरुले अभिनयमा पुनरागमन गरिसकेका छन् । सबैभन्दा लामो समयपछि कमब्याक गर्नेमा पूजा पर्छिन् । अमेरिकामा बस्दै आएकी उनी करिब दुई दशकपछि अभिनयमा फर्किएकी हुन् ।
पूजाले एक वर्षअघि अमेरिकामै खिचिएको फिल्म ‘भूठान’बाट कमब्याक गरेकी हुन् । त्यसपछि उनको हातमा फिल्म टुटेको छैन । ‘भूठान’ लगत्तै उनले अमेरिकामै फिल्म ‘तेल भिसा’मा काम गरिन् । केही प्रतिशत छायांकनका लागि नेपाल पनि आएकी थिइन् । यो फिल्म रिलिजपछि सबैभन्दा बढी वाहवाही उनकै अभिनयलाई लिएर भएको थियो । यो मानेमा उनको कमब्याक सार्थक रह्यो ।
अब फेरि पूजा अर्को फिल्ममा देखिँदैछिन् । त्यो फिल्म हो, ‘परान’ । दीपक आचार्य (काकु)को निर्देशनमा बन्न लागेको यो फिल्ममा काम गर्नका लागि उनी बिहीबार नेपाल आइसकेकी छन् । यसमा उनी अभिनेता नीर शाहको श्रीमतीको भूमिकामा देखिन लागेको जानकारी प्राप्त छ । यसरी एकपछि अर्को फिल्ममा आबद्ध हुनुले अब पूजा अभिनयलाई निरन्तरता दिने सोचमा रहेको देखिन्छ ।
पूजा २० वर्षपछि फिल्ममा फर्किँदा उनले गर्ने भूमिकामा भने परिवर्तन आएको छ । करिअर उत्कर्षमा रहँदा उनी प्रायः रोमान्टिक भूमिकामा देखिएकी हुन्थिन् । तर, अहिले आमा वा श्रीमती भएर काम गरिरहेकी छन् । ‘तेल भिसा’मा उनी विपिन कार्कीको आमा बनेकी थिइन् । उमेरअनुसार कलाकारले फरक भूमिकामा पनि आफूलाई ढाल्न सक्नुपर्छ भन्ने उदाहरण पूजाले पेस गरेकी छन् ।