यसपालि दशैंको फूलपातीमा आएका तीन फिल्ममध्ये ‘१२ गाउँ’ र ‘छक्का पञ्जा ५’ले बक्स अफिसमा आक्रामक व्यापार गरे । दुई फिल्मले गरी लगभग ४० करोड कमाए । यही देखेर यतिबेला एकपछि अर्को निर्माताले आगामी दशैंको फूलपातीलाई फिल्मको प्रदर्शन मिति घोषणा गरिरहेका छन् । अहिलेसम्मको अवस्था हेर्दा आठवटा फिल्म आगामी फूलपातीमा रिलिज हुने देखिएको छ ।
‘दशमी’, ‘परालको आगो’, ‘माइतीघर’ र ‘महाराजधिराज’ गरी चार फिल्मले आधिकारिक रुपमा फूलपातीलाई प्रदर्शन मिति घोषणा गरिसकेका छन् । फूलपातीमै उपेन्द्र सुब्बाको ‘जारी २’, विराज भट्टको ‘१२ गाउँ २’ र अशोक शर्माको ‘डबल ट्रिपल’ पनि प्रदर्शनमा आउने सम्भावना रहेको व्यापक चर्चा छ । यसबीच, फूलपातीमा अर्को एउटा फिल्म थपिएको छ । त्यो हो, ‘हरिबहादुरको जुत्ता’ ।
आइतबार निर्देशक दीपेन्द्र के. खनालले फूलपातीबाट फिल्म प्रदर्शनमा आउने जानकारी गराएका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘हरिबहादुर पनि जुत्ता फुकालेर यसपालिको दशैंमा (फूलपाती) टीका लगाउन आउने भो (हरिबहादुरको जुत्ता) ।’ यतिबेला काभ्रेमा फिल्मको छायांकन भैरहेको छ । फूलपातीमा ‘हरिबहादुरको जुत्ता’ पनि आउने भएपछि अब भिडन्त रोचक हुने देखिन्छ ।
हरिवंश आचार्यको शीर्ष भूमिका र लेखन रहेको फिल्ममा प्रकाश सपूत, प्रियंका कार्की, स्वस्तिमा खड्का लगायतको पनि अभिनय छ । एसएम मोसन पिक्चर्स अन्तर्गत बनिरहेको फिल्मको निर्माता सरोज ओली र मोहितवंश आचार्य हुन् । २० वर्षअघिको चर्चित सिरियल ‘मदनबहादुर-हरिबहादुर’मा हरिवंश आचार्यले निभाएको हरिबहादुरको चरित्रबाट फिल्म प्रभावित रहेको जनाइएको छ ।