अभिनेता प्रदीप खड्का अभिनीत फिल्म ‘एक्टर : टेक वन’ले घरेलु बक्स अफिसमा अपेक्षित व्यापार गर्न सकेन । निर्माताले व्यापार सार्वजनिक नगर्नुले पनि फिल्मको अवस्था दयनीय रहेको प्रष्ट बुझिन्छ । यद्यपि, दोस्रो सातामा प्रवेश गरेको यो फिल्म अब विदेशमा प्रदर्शन हुन थालेको छ । जापानबाट यसको सुरुवात भएको हो । यतिबेला जापानका विभिन्न सहरमा फिल्म प्रदर्शन भइरहेको छ ।
जापानपछि अब अष्ट्रेलियामा फिल्म प्रदर्शन हुने भएको छ । फेब्रुअरी २१ अर्थात् फागुन ८ देखि अष्ट्रेलिया प्रदर्शन सुरु हुने वितरक कम्पनी इस्सा भाइब इभेन्टका राजजङ्ग क्षेत्रीले बताए । फेब्रुअरी २१ मा पहिलो प्रदर्शन सिड्नीमा हुँदैछ भने क्यानवेरा लगायतका अन्य सहरहरूमा पनि फिल्म प्रदर्शन हुने उनले जानकारी दिए । उनका अनुसार केही शोका लागि बुकिङ खुला भइसकेको छ ।
अष्ट्रेलिया रिलिजमा इस्सा भाइब इभेन्टलाई पार्टी टाइम नेपाल इभेन्ट, सूरज बिष्ट र अजय राजवंशीले सघाएका छन् । अष्ट्रेलियापछि अमेरिका, क्यानडा, यूके, मध्यपूर्व, न्यूजिल्याण्ड, मलेसियामा पनि फिल्म प्रदर्शन हुने जनाइएको छ । अमेरिका प्रदर्शनमा प्रदीप स्वयं उपस्थित हुने तयारीमा छन् । प्राप्त जानकारी अनुसार फिल्मको अमेरिका र क्यानडाको राइट्स प्रदीप आफैंले लिएका हुन् ।
राजन भुसालको डेब्यु निर्देशनमा तयार भएको फिल्ममा प्रदीपसहित आना शर्मा, दिव्या रायमाझी, राजजबल्लभ कोइराला, दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौला लगायतको अभिनय छ । फिल्मको स्क्रिप्ट आकाश बराल र निर्देशक भुसालले लेखेका हुन् । फिल्ममा निर्माता थमन कुमार भण्डारी, क्रियटिभ प्रोड्युसर मोती कार्की र सह-निर्माता अनीश भुसाल रहेका छन् ।