मिति : २०८१ माघ २९, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘रंगी’ समाजको कथा हो : सलोन बस्नेत

फिल्मीखबर, काठमाडौं, 2025/02/10

salon basnet

 

अभिनेता सलोन बस्नेतको नीजि जीवन र करिअरमा नयाँ अध्याय सुरु भएको छ । गत बैशाखमा उनी छोरीको पिता बने । यसपछि आफैंले पहिलो पटक फिल्म निर्माण गरेका छन् । त्यो फिल्म हो, ‘रंगी’ । यसमा उनी छोरीको पिताकै भूमिकामा छन् । फिल्ममा पहिलो पटक उनले बाबुको भूमिकामा अभिनय गरेका हुन् । यसैले पनि ‘रंगी’लाई उनको करिअरको दोस्रो इनिङ मानिएको छ ।  

सलोन आफैं ‘रंगी’बाट करिअरको ‘दोस्रो इनिङ’ सुरु भएको स्वीकार गर्छन् । आइतबार पत्रकार भेटघाटमा उनले भने, ‘म चाहन्छु कि यो दोस्रो इनिङ नै होस् । मेरो व्यक्तिगत जीवनमा फरक पाटो सुरु भएको छ । करिअरमा पनि त्यही होस् भन्ने चाहन्छु । एकै किसिमको काम गर्दागर्दा कति गर्ने भन्ने सोचमा म पुगिसकेको थिएँ । दर्शकहरुलाई केही फरक दिउँ भनेर नै ‘रंगी’ बनाएको हुँ ।’

सलोन ‘रंगी’लाई समाजको कथा भन्न रुचाउँछन् । राम्रो हुँदा वा नराम्रो हुँदा समाजले कसरी हेर्छ भन्ने कुरा फिल्ममा रहेको उनको भनाइ छ । भन्छन्, ‘एउटा व्यक्तिको जीवनमा राम्रो र नराम्रो अवस्था दुवै आउँछ । यतिबेला उसलाई समाजले कसरी हेर्छ ? यिनै चिजलाई फिल्मले देखाउनेछ । यसअर्थ ‘रंगी’ समाजको कथा हो ।’ फिल्मले बाबुको भावनात्मक पक्ष पनि देखाउने उनले बताए ।

‘रंगी’को कथा भने फेसबुकमा आएको एउटा भिडियोबाट जन्मिएको रहेछ, जहाँ ‘फूड डेलिभरी’ गर्ने व्यक्तिलाई काठमाडौंको कुनै एक ठाउँमा गाडीले ठक्कर दिएको थियो । रगताम्मे हुँदा पनि ती व्यक्ति भनिरहेका थिए रे, ‘मेरो डेलिभरी यही नजिकै छ, पुर्‍याएर आउँछु अनि हस्पिटल जाउला ।’ त्यो कुराले सलोनलाई निकै छोएछ । यही घटनाले फिल्मको कथा जन्मिएको उनी स्मरण गर्छन् ।

‘जागिरबाट उहाँलाई सीमित पैसा आउँथ्यो होला । तर, स्वास्थ्य भनेको त सबैभन्दा माथि आउँछ,’ उनले भने, ‘जुन इमोसन मैले त्यो भिडियोमा देखेँ, त्यसपछि निर्देशक (सुरेश न्यौपाने)सँग यो विषयमा फिल्म बनाउनुपर्छ भनेर कुरा गरेको थिएँ । त्यहाँबाट फिल्मको काम सुरु भएको हो । यदि त्यो भिडियो नदेखेको भए ‘रंगी’ बन्दैन थियो होला । हामी अर्कै एक फिल्मको तयारी गरिरहेका थियौं ।’

सलोनले ‘रंगी’ छोरी जन्मिएपछि गरेका हुन् । यसैले पनि बाबुको क्यारेक्टरमा ढल्न आफूलाई सहज भएको उनी बताउँछन् । ‘छोरी जन्मिएपछि मलाई क्यारेक्टरमा छिर्न अझ सजिलो भयो । वास्तविक जीवनमा म जुन कुरा महसुस गर्थें, फिल्मभित्र क्यारेक्टरले पनि त्यही महसुस गर्छ,’ उनले भने । आगामी फागुन २ गतेबाट प्रदर्शन हुन लागेको फिल्मले दर्शकको मन छुनेमा सलोन विश्वस्त छन् ।