गत असारमा अभिनेत्री पूजा शर्माले ‘दान्भी’ रिलिजको बेला हल ‘भिजिट’को क्रममा ‘काली २’ बन्न लागेको घोषणा गर्दै आफू र रेखा थापाको मुख्य भूमिका रहने जानकारी गराएकी थिइन् । तर, अब रेखा र पूजा दोस्रो पटक एकसाथ देखिन लागेको फिल्मको नाम ‘काली २’ नराखिने भएको छ । निर्देशनको जिम्मेवारीमा रहेका सविर श्रेष्ठले नयाँ नाम र नयाँ कन्सेप्टमा फिल्म बन्ने जानकारी दिए ।
सविरले फिल्मीखबरसँग भने, ‘फिल्ममा रेखा र पूजा चाहिँ ‘स्योर’ नै हो । तर, नाम ‘काली २’ हुँदैन । नाम नयाँ नै हुन्छ । र, कन्सेप्ट पनि नयाँ नै हो । भन्नुको मतलब ‘काली’सँग कथा सम्बन्धित छैन ।’ उनका अनुसार फिल्म फ्यामिली ड्रामा र एक्सन हुनेछ । यही वर्ष (२०८१)को अन्त्यसम्म छायांकन सुरु गर्ने तयारी भइरहेको उनले बताए । यतिबेला स्क्रिप्टमा काम भइरहेको उनको भनाइ छ ।
सविरले आफ्नो करिअरमा सबैभन्दा बढी फिल्म नै रेखासँग बनाएका छन् । यसअघि उनीहरूबीच ‘काली’, ‘कसले चोर्यो मेरो मन’, ‘तथास्तु’, ‘हमेशा’, ‘राम प्यारी’मा सहकार्य भएको छ । कोभिडअघि उनीहरु एउटा फिल्म निर्माणको तयारीमा समेत थिए । जसमा रेखाको जोडी सौगात मल्लसँग बाँधिँदै थियो । तर, त्यो फिल्म नै बन्न सकेन । अब नयाँ फिल्ममा सविर र रेखाको सहकार्य हुँदैछ ।
केही दिनअघि रेखाले पनि नयाँ फिल्मको स्क्रिप्टमा काम भइरहेको जनाएकी थिइन् । उनले भनेकी थिइन्, ‘यतिबेला स्क्रिप्टको काम भइरहेको छ । नहतारिकन एकदमै बबाल फिल्म लिएर आउँदैछु । यसैले स्क्रिप्टमा दिनरात मिहिनेत भइरहेको छ । ढिला आउला तर दामी फिल्म ल्याउन खोजेका छौं ।’ उनी पछिल्लो पटक ‘उपहार’मा देखिएकी थिइन्, जसमा शीर्ष भूमिकामा पूजा पनि थिइन् ।