आगामी फागुन ९ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘ताण्डवम्’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक २ मिनेट लम्बाईको ट्रेलरले फिल्म बदलाको कथामा बनेको प्रष्ट पार्छ । एक गर्भवती महिलाको हत्या भएपछिको घटनाक्रमलाई फिल्मले मुख्य कथावस्तु बनाएको देखिन्छ । प्रेमिल र हिंसात्मक दृश्यहरू ट्रेलरमा प्रशस्त छन् ।
लामो समयदेखि नेपाली फिल्ममा रंग संयोजन गर्दै आइरहेका जुनिम गहतराजले फिल्मको निर्देशन गरेका हुन् । उनको यो पहिलो निर्देशकीय फिल्म हो । क्राइम-थ्रिलर जनरामा बनेको फिल्ममा जुनिम स्वयं मुख्य भूमिकामा छन् । उनको जोडी सरिना मगरसँग बाँधिएको छ । यसमा अंकित खड्का, पुष्कर गुरुङ, प्रेम सुब्बा, अनोज पाण्डे, कमल कार्की लगायतको पनि अभिनय रहेको छ ।
सिंहदेवी प्रोडक्सनले भिजुअल आर्ट्स स्टुडियोसँग निर्माणमा सहकार्य गरेको फिल्ममा धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम निर्माताको रुपमा छन् । हरि घले लामाको छायांकन रहेको फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, सुशान्त गौतमको संगीत तथा कोबिद बज्रको ब्याकग्राउन्ड म्युजिक छ । फिल्मको कथा, पटकथा एवं संवाद अनिरुद्ध आत्रेय र हुसेनले मिलेर लेखेका हुन् ।