गत बैशाखदेखि कात्तिकसम्म नेपाली फिल्मको व्यापार चकाचक नै रह्यो । यो अवधिमा लगभग १० वटा फिल्म व्यावसायिक रुपमा सफल भए । कात्तिकमा आएको ‘पूर्णबहादुरको सारङ्गी’ले त घरेलु बक्स अफिसमा इतिहास नै रच्यो । तर, मंसिर महिना लागेयता नेपाली फिल्मको व्यापार निकै उदेकलाग्दो छ । ‘स्टार’ कहलिएका कलाकारहरुको फिल्म समेत बक्स अफिसमा डुबिरहेका छन् ।
पुषमा प्रदर्शन भएका सौगात मल्लको ‘बमबहादुर’ र दयाहाङ राईको ‘कार्साङ’ दुवै व्यापारिक रुपमा असफल भए । जसले गर्दा उनीहरुको स्टारडममाथि नै प्रश्न उठेको छ । यी दुई स्टारको फिल्म चल्न नसकेपछि धेरैलाई माघ १८ गतेको फिल्म ‘एक्टर : टेक वान’प्रति ठूलो अपेक्षा थियो । किनकि, यसमा अहिलेका ‘स्टार’ प्रदीप खड्का थिए । तर, उनको पनि स्टारडमको जादू देखिएन ।
नाम विवादले घोषित मिति (माघ १६ गते)बाट दुई दिनपछि प्रदर्शनमा आएको फिल्मको ओपनिङ नै दयनीय रह्यो । पहिलो दिन नै दर्शक अभावले थुप्रै शो ‘क्यान्सिल’ भए । दोस्रो दिन व्यापार तैबिसेक भए पनि आइतबारबाट फिल्म उकासिनै सकेन । यतिबेला दोस्रो सातामा रहेको फिल्मले हलमा घुँडा टेकिसकेको छ । निर्माताको हातमा हलबाट ५० लाख सेयर रकम पनि नपर्ने देखिन्छ ।
‘एक्टर : टेक वान’ नचल्दा निर्मातालाई त ठूलो धक्का लागेको छ नै, प्रदीपलाई पनि यो सानो झड्का होइन । उनको नामैले फिल्म चल्छ भन्ने विश्वासमा निर्माताले फिल्ममा ‘सुपरस्टार’को ट्याग समेत दिएका थिए । तर, उनले जति वजनदार ट्याग पाए, घरेलु बक्स अफिसमा त्योअनुरुप उनको स्टारडम देखिन सकेन । तथापि, प्रदीपले फिल्मका लागि प्रचारमा गरेको दौडधुप भने गजब थियो ।
प्रदीपको फिल्म मात्र होइन, अघिल्लो साता प्रदर्शित प्रियंका कार्कीको ‘ममी’ र ऋचा शर्माको ‘सारंग’को अवस्था पनि हरिविजोग छ । फिल्मको प्रचार गर्न प्रियंका आफैं काठमाडौंका सडकमा दर्शक तर्साउँदै हिँडेकी थिइन् । तर, त्यसले पनि दर्शक तान्न सकेन । ऋचाले त झन् ‘सारंग’लाई आफ्नो करिअरको ‘दोस्रो इनिङ’ भनेकी थिइन् । तर, उनको फिल्मप्रति पनि दर्शकको चासो देखिएन ।
‘एक्टर : टेक वान’, ‘ममी’ र ‘सारंग’सहित माघमा रिलिज भएका ‘एक्टर’, ‘फिरफिरे फिरिरी’, ‘केटी हराएको सूचना’ र ‘जुना’ गरी ७ वटा फिल्म फ्लप भएका छन् । ‘जुना’लाई त च्यारिटी शोमा दर्शक बेहोस गराएको फिल्म भनेर समेत प्रचार गरिएको थियो । तर, त्यही फिल्म हेरेर हलमा रोइदिन पनि दर्शक आइदिएनन् । अन्ततः माघ महिना व्यापारको हिसाबले निराशाजनक बन्न पुगेको छ ।