निर्देशक शोभित बस्नेतले अष्ट्रेलियाबाट आफ्नो नयाँ फिल्म ‘पीआर’को छायांकन सुरु गरेका छन् । अष्ट्रेलियाको कोग्रास्थित एक रेष्टुरेन्टमा मंगलबार मुहूर्त गरेपछि फिल्मको छायांकन सुरु गरिएको हो । फिल्मका मुख्य कलाकारहरु आर ए सुरज पौडेल, राजन कुँवर, बिनिता कार्की, पूजा चौधरी र आस्मा अधिकारीले मुहूर्त सट दिएका थिए ।
अष्ट्रेलियाको विभिन्न सहरमा ७५ प्रतिशत र नेपालमा २५ प्रतिशत छायांकन हुने फिल्ममा आस्मा अधिकारी, कुशल थापा, विमला खत्री, म्याक्स, कृष्ण थापा, नवीन घायल लगायतको पनि अभिनय रहनेछ । सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण हुने फिल्मको प्रस्तुतकर्तामा रन्जित शाह (आरएफएम फयासिलिटी मेनेजमेन्ट अष्ट्रेलिया) र लेन वे डम्प्लिङ सिड्नी छन् ।
ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल र इन्द्रेणी ग्रुपका लक्ष्मण सापकोटा निर्माता तथा एपिआइसीका गणेश केसी कार्यकारी निर्माता रहेको फिल्ममा शोभित बस्नेतको कथा र गणेश बुढाथोकीको पटकथा तथा संवाद लेखन छ । सौरभ मानन्धरले छायांकनको जिम्मेवारी सम्हालेको फिल्ममा मानस राजको संगीत रहेको छ । सम्पादन भने बन्दे प्रसादले गर्नेछन् ।